काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायतके तर्फबाट नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।
बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको समुपस्थितिमा हस्ताक्षर भएको हो ।
यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ । यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकारबेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ ।
नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना र सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा ९इम्प्लिमेन्टेसन प्रोटोकल०बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
सम्झौता पत्रमा निम्न ८ वटा विषय उल्लेख गरिएका छन् ।
१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।
२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।
३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।
४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।
५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।
६. नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।
७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।
८. समझदारी पत्र, नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-careमा उपलव्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने ।














