Logo
Logo

सुनिल र अनुको ‘मायाले बाँधेर त हेर’




काठमाडौं । समिप इन्टरटेनमेन्ट प्रा.लि.को पहिलो प्रस्तुतीको रुपमा ‘मायाले बाँधेर त हेर’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक विशेष समारोहबीच कम्पनीले उक्त गीतको भिडियो सार्वजनिक गरेको हो ।


बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतित्थ्यतामा समिप इन्टरटेनमेन्टको यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा नायिका अनु शाह, मोडलिङमा डेब्यु गरेका सुनिल न्यौपाने, र बाल कलाकारका रुपमा समिप न्यौपानेले अभिनय रहेको छ ।

समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाको अध्यक्षतामा सम्पन्न म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकार सिंह, विशेष अतिथिका रुपमा बरिष्ठ गायक एवं संगीतकार यम बराल, संगीत व्यवसायी ईश्वर गुरुङ, संगितकार राम सिटौलालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिंहले समिप इन्टरटेनमेन्टको पहिलो प्रस्तुति ‘मायाले बाँधेर त हेर’ लाई विशेष शुभकामना दिँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेकोमा कम्पनीकी अध्यक्ष बर्तौलालाई शुभकामना र धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कार्यक्रममा उनले भने–‘नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सिर्जनाका साथ प्रवेश गरेको कम्पनीले संख्यात्मक भन्दा गुणात्मक सांगीतिक सिर्जनाहरु प्रस्तुति गरोस् ।’ सिंहले भिडियोमा अभिनय गरेका सुनिल र अनुको जोडी ज्यादै सुहाएको बताउँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट गीतहरुमा यो जोडीलाई देख्न पाइनेमा आशावादी रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै गायक एवं संगीतकार बरालले गीतको भिडियो निकै उत्कृष्ट बनेको बताउँदै आगामी अनु र सुनिलको जोडी ज्यादै जमेको समेत बताए ।

संगीत व्यवसायी गुरुङले आफ्नो लामो अनुभवमा पहिले भन्दा पछिल्ला दिनमा सांगीतिक क्षेत्रमा होमिएका व्यवसायीलाई केही हदसम्म भए पनि सजिलो भएको अनुभव आफूले गरेको बताए । तर नयाँ व्यवसायीहरुले सिर्जनाको उत्कृष्टतासँगै प्रविधिलाई पनि भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने–‘सिर्जना राम्रो मात्रै भएर पनि हुँदैन, त्यसको प्रस्तुतीकरण र बजारीकरणलाई पनि व्यवसायीले ध्यान दिनुपर्छ ।’


नेक्सन लोहनी र प्रविशा अधिकारीको स्वरमा रहेको ‘मायाले बाँधेर त हेर’ गीतको शब्द र संगित दिलिप समनको रहेको छ । इशा शाह ठकुरीले कोरियोग्राफि गरेको उक्त म्युजिक भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।
उक्त म्युजिक भिडियो पर्यटकीय नगरी पोखरामा छायाँकन भएको निर्देशक दिलिप समनले बताए । कार्यक्रममा गायिका अधिकारी र मोडल शाहले गीत तयारीका अवसरमा भोगेका अनुभवहरू पनि शेयर गरेका थिए ।


कार्यक्रमको अन्त्यमा अध्यक्ष बर्तौलाले समिप इन्टरटेनमेन्टले सांगीतिक क्षेत्रमा पहिलो पाइला चालेको बताउँदै आगामी दिनमा छुट्टै पहिचान बनाउँदै व्यावसायिक रुपमा भन्दा पनि कला र संगीतकर्मीहरुलाई केही राहात मिल्नेगरी काम गर्ने बताइन् ।

आफ्नो कम्पनीमार्फत् बजारमा आएका सांगीतिक कोसेलीहरुको आम्दानीको केही भाग समाज सेवामा खर्चिने प्रण गरेकी बर्तौलाले समस्त दर्शक एवं स्रोताहरूको माया पाउने विश्वास लिएको समेत बताइन् ।

म्यूजिक भिडियो:

प्रतिक्रिया दिनुहोस्