Logo

सुन पसलबाट लाखौँको धनमाल चोरी


Published On : 7 August, 2019

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।


राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसल सञ्चालक श्यामकिशोर साहले पाँच किलो चाँदीका तयारी गहना र रु ७५ हजार नगद चोरी भएको बताएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।

चोरले पसलको मुख्य सटर तोडेर भित्र पसे पनि मुख्यसेफ भने फोड्न नसक्दा सुन लान नसकेको ज्वेलर्स सञ्चालक साहको भनाइ छ । पसलभित्र प्रदर्शनीमा राखिएका चाँदीका गहना र नगदसहित रु पाँच लाखको धनमाल भने चोरले लगेका साहले बताए ।

बर्दिवास नगर क्षेत्रमा लागुपदार्थ दुव्र्यसनी यस्ता चोरीका घटनामा सरिक हुने गरेका स्थानीयवासी व्यापारी बताउँछन् । पूर्वपश्चिम राजमार्गको भोला वसन्तचोकस्थित प्रहरी बिटबाट चोरी भएको पसलको दूरी ५० मिटर रहेको छ ।

यसैबीच प्रहरी नायब उपरीक्षक थापाले नजिकका पसलमा रहेका सिसी क्यामेराको फुटेजका आधारमा प्रारम्भिक अनुसन्धान थालिएको बताए । आफ्नै घरमा र छरछिमेकमा चोरी गर्न पल्केका लागुपदार्थको लत लागेका दुव्र्यसनीलाई चिह्न्ति गरी अनुसन्धान गरिने प्रनाउ थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्