काठमाडौँ । विद्युत् प्राधिकरणले रत्नपार्कस्थित आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उक्त स्टेसन उद्घाटन गर्दै स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताए ।

प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ ।














