
काठमाडौं । चीनबाट २०७८/०७९ मा ६ अर्ब रुपैयाँको स्याउ आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट ल्याएको हो । उक्त मूल्यको ६ करोड ९४ लाख १८ हजार ८ सय किलो स्याउ आयात भएको हो ।
यो अघिल्लो आव भन्दा २.८ प्रतिशतले बढी हो । अघिल्लो आव २०७७/०७८ मा ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात भएको थियो । २०७६/०७७ मा चीनबाट ३ अर्ब २२ करोड ७० लाख रुपैयाँँको स्याउ आएको भन्सारको तथ्यांक छ ।
नेपालले गत आवमा कुल ८ करोड ६७ लाख ९६ हजार १९ किलो स्याउ आयात गरेको छ । चीनबाहेक भारतबाट १ अर्ब १६ करोड २१ लाखको १ करोड ७३ लाख १३ हजार २ सय आयात भएको छ । टर्की, अमेरिकालगायत मुलुकको स्याउ पनि आउने गरेको छ ।
भियतनाम र भारतबाट ड्राइ स्याउ तथा चीन र भारतबाट स्याउको जुससमेत आयात हुने गरेको तथ्यांक छ । नेपालका मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा व्यावसायिक स्याउखेती हुने गरेको छ ।
यहाँ यातायातको पहुँच र कोल्डस्टोर नहुँदा बजारीकरण हुन सकेको छैन ।












