Logo
Logo
कला

‘यहाँसम्म आइपुग्न धेरै मिहिनेत गरेकी छु’



सानैदेखि डान्स गर्न रुचाउँथिन् उनी । त्यसबेला सोच्थिन्, ‘एकदिन म पनि फिल्मको हिरोइन बन्ने छु ।’ अहिले उनै बिमला खजुमलाई मोडलिङ र अभिनयमा भ्याइनभ्याई छ । डान्स हुँदै मोडलिङ र फिल्मीमा फड्को मारेकी धरानकी बिमलाले छोटो समयमै धेरै काम गरेकी छन् । ६ वर्षयता कलाकारितामा सक्रिय बिमलाले ६० भन्दा बढी म्युजिक भिडियो र पाँच वटा फिल्ममा अभिनय गरेकी छन् । बिडम्बना भनौँ, उनी अभिनित कुनै पनि फिल्म रिलिज भएको छैन ।

बिमला अभिनीत पछिल्लो फिल्म ‘रित’ हो, जुन फिल्मको आगामी ३ असोजमा काठमाडौंमा विशेष प्रदर्शनी हुँदैछ । ‘सानु’, ‘तलास’, ‘अञ्जली’, ‘सँगसँगै बाँच्न पाउँ’लगायतका फिल्ममा अभिनय गरेकी बिमला भन्छिन्, ‘मैले काम गरेका फिल्महरू रिलिज हुनै बाँकी छ, ती सबै फिल्मबाट आशावादी छु ।’ मोडलिङ र अभिनयसँगै डान्स कोरियोग्राफरसमेत रहेकी अभिनेत्री बिमला खजुमसँग एमपी सुब्बाको जम्काभेट :

कला क्षेत्र नै किन रोज्नुभयो ?
सानैदेखि डान्स गर्थेँ । डान्समा रुची भएकाले स्कुलमा हुने हरेक कार्यक्रममा सहभागी हुन्थे । विस्तारै स्कुलमा डान्स सिकाउन थालेँ । डान्स गर्दागर्दै मोडलिङमा अघि बढेँ ।

हिरोइन बन्ने रहर कहिलेबाट जाग्यो ?
जुन समयदेखि डान्स गर्न थालेँ, त्यो समयदेखि नै मोडलिङ र अभिनयमा रुची बढ्न थाल्यो । जब मोडलिङमा पाइला राखेँ, त्यसपछि फिल्ममा काम गर्ने इच्छा लाग्न थाल्यो । ती इच्छाहरू अहिले पूरा गर्दै पनि आएकी छु ।

रहर पूरा गर्ने पहिलो अवसर कसरी जु¥यो ?
आफैँले पैसा लगानी गरेर भए पनि एउटा म्युजिक भिडियो गर्नुप¥यो भनेर तम्सिएँ । राजेशपायल राईले गाएको ‘तिमी सँगै’ गीतको भिडियो गरेँ । तर, पछि पैसा तिर्नु परेन ।

कला क्षेत्रमा लाग्नुभएको कति भयो ?
स्टेजहरूमा सानैदेखि नाच्दै आएकी हुँ । तर, म्युजिक भिडियोमा काम गर्न थालेको ६ वर्ष पुग्यो ।

अहिलेसम्म कति भिडियोमा अभिनय गर्नुभयो ?
अहिलेसम्म ६० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छु । फिल्म पनि आधा दर्जन भयो । मेरो पछिल्लो लिम्बू भाषाको फिल्म ‘रित’ हो । त्यसबाहेक ‘तलास’, ‘सानु’, ‘अञ्जली’, ‘सँगसँगै बाँच्न पाउँ’लगायतका फिल्ममा अभिनय गरेकी छु । ‘सँगसँगै बाँच्न पाउँ’ केही समयअघि मात्र धरानमा प्रिमियर शो गरिएको थियो । ‘रित’को असोज ३ गते काठमाडौंमा विशेष प्रदर्शनी हुँदैछ ।

तपाइँ अभिनित ती फिल्महरु किन प्रदर्शनमा आएनन् ?
मुख्य कारण कोरोना महामारीपछि देश लकडाउनमा गयो । लकडाउनअघि काम गरेका फिल्महरू मेरो मात्र होइन, अरुका पनि रिलिज हुन सकेका छैनन् । मलाई लाग्छ, अब चाँडै ती फिल्महरू रिलिज हुनेछन् ।

ती आफ्ना फिल्महरूबाट कतिको आशावादी हुनुहुन्छ ?
आफूले गरेको सबै कामबाट आशा हुन्छ । सबैमा उत्तिकै मिहिनेत गरेकी छु । मिहिनेतअनुसार फल अवश्य मिल्ला नै । त्यसमा पनि मूल्याँकन दर्शकले गर्नेछन् भन्ने लाग्छ ।

‘रित’ कस्तो फिल्म हो ?
‘रित’ लिम्बू समुदायभित्रको विवाह ंसंस्कारमा आधारित छ । लिम्बू समुदायमा विवाह गर्दा केटाले केटी पक्षलाई रित बुझाउने चलन छ । त्यो चलन समयसँगै फेरिँदै गएको छ । समाज आधुनिक बन्दै जाँदा छोरीचेलीबाट रित लिनु हुन्न भन्नेहरू लिम्बू समुदायमा बढ्दै गएका छन् । फिल्म ‘रित’ले त्यही सन्देश दिन खोजेको छ ।

फिल्ममा तपाईँको भूमिका के छ ?
गाउँले परिवेशमा भए पनि ‘रित’ लभस्टोरीमा आधारित छ । जसमा मैले एक गाउँले दुःखी छोरीको भूमिका निर्वाह गरेकी छु ।

‘रित’ फिल्ममा कसरी जोडिनुभयो ?
मैले यो फिल्म गर्नुअघि पनि दिनेश लिङ्देन सरसँग काम गरेकी थिएँ । तर, यसअघि उहाँसँग नेपाली फिल्ममा काम गरेकी थिएँ । त्यसैले उहाँले लिम्बू भाषाको फिल्म बनाउँदैछु, काम गरौँ भन्नुभएपछि ‘रित’मा जोडिएकी हुँ ।

‘रित’को छायाँकन निकै कष्टपूर्ण भएको भन्ने सुनिएको थियो । त्यसबेला कस्तो कष्ट बेहोर्नुपरेको थियो ?
सबैभन्दा बढी पानीले दुःख दिएको थियो । खासै कष्टचाहिँ भएन । ‘रित’को छायाँकनका लागि ताप्लेजुङको सिनाम पुगेका थियौँ । पानीले गर्दा निर्धारित समयमा सुटिङ सक्न हामीलाई हम्मेहम्मे भएको थियो । सिनाम जस्तो विकट गाउँ भएपनि खान–बस्नलाई भने दुःख भएन । चिनजानकै घरमा बसेका थियौँ । सिनाममा काबेलीको माछाचाहिँ धेरै नै खाइयो ।

छोटो समयमा धेरै काम गर्नुभयो । संघर्ष खासै गर्नु परेन होइन त ?
अरुले देख्दा त्यस्तै लाग्छ । चिनजानकाहरूले पनि थोरै मिहिनेत गरेर धेरै प्रगति ग¥यौं भन्छन् । तर, त्यस्तो होइन । अहिले जुन ठाउँमा छु, यहाँसम्म आइपुग्नलाई धेरै मिहिनेत गरेकी छु ।

कला क्षेत्रमा लागेपछि असहज परिस्थिति बेहोर्नु परेको छ कि छैन ?
अहिलेसम्म छैन । भोग्न पनि नपरोस् । अर्को कुरा, ममाथि त्यस्तो अवस्था आउन दिन्नँ किनकि, म को कस्तो मान्छे भनेर बोलीबाटै चिन्छु । खराब सोच भएकाहरूबाट म टाडिन्छु ।

भविष्यको उद्देश्य के छ ?
मेरो उद्देश्य कला क्षेत्रमा रमाउने हो । कलाकारितामा रहने भएकाले कोरियोग्राफर बन्ने सोच छ । डान्समार्फत यो क्षेत्रमा आएकी हुँ, त्यसैले मेरो उद्देश्य एक कुसल कोरियोग्राफर बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्