Logo
Logo
कला

‘गायिका हुँ, धेरैले मोडलका रुपमा चिन्छन्’



काठमाडौं । गायन, मोडलिङ र अभिनय एउटै क्षेत्र तर फरक विधा हुन् । यि तीनै विधालाई अँगाल्नु आफैँमा चुनौती हो । तर धादिङ, धुवाँकोटकी रितु तामाङ यी तीनै विधा संलग्न छिन् । करिब एक दशकदेखि गायन, मोडलिङ र अभिनयमा सक्रिय रिताले यहाँसम्म आइपुग्दा डेढ सयभन्दा बढी गीत गाइसकेकी छन् भने दुई सयभन्दा बढी म्युजिक भिडियोमा उनको मोडलिङ देख्न सकिन्छ । तर, उनी आफूलाई मोडलभन्दा गायिकाको रुपमा चिनाउन चाहन्छिन् ।

रितु भन्छिन्, ‘आफूलाई गायिका नै भन्न रुचाउँछु किनकि मोडलिङभन्दा गायन लामो समय टिक्छ ।’ उनी तामाङ सेलो गीतमा चर्चित छिन् । २०७० सालमा ‘पधेँरीको पानी’ गाएर गायन अँगालेकी रितुले लोकदोहोरीका अलावा थुप्रै म्हेन्दोमाया र तामाङ सेलो गाएकी छन् । ‘वन देवता’ नामक फिल्मकी अभिनेत्री समेत रहेकी गायिका तथा मोडल रितु तामाङसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँको नयाँ नौलो के हुँदैछ ?
नयाँ नौलो भनेकै मेरो गीतसंगीत हो । गायनमै व्यस्त छु । त्यसबाहेक म्युजिक भिडियोहरु गर्दै आएकी छु ।

गायनसँगै मोडलिङ पनि गर्नुहुन्छ ?
दुवै क्षेत्रमा छु । गायनसँगै मोडलिङ र अभिनय पनि गर्छु । संख्याको हिसाबले जति गीत गाए, त्योभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छु । र, मैले केही टेलिफिल्म र एउटा फिल्ममा अभिनय पनि गरेकी छु ।

गायन र मोडलिङ सँगसँगै अँगाल्नुभएको हो ?
त्यसै भन्नुपर्ला । ‘पधेँरीको पानी’ मेरो पहिलो रेकर्डिङ गरेको गीत हो, जुन गीतको भिडियोमा आफैँले मोडलिङ गरेकी छु ।

गाउन थाल्नुभएको कति भयो ?
२०७० सालदेखि गायन क्षेत्रमा छु । एक दशक नै भयो । त्यसअघि पनि गाउनचाहिँ गाउँथे, तर, ०७० सालपछि मात्र व्यवसायीरुपमा गाउन थालेकी छु ।

गायन र मोडलिङलाई अँगाल्ने सोच कसरी आयो ?
सानैदेखि गाउन र नाच्न रुचाउँथे । अरुले गाएको र नाचेको देख्दा मलाई पनि रहर लाग्थ्यो । रहर पूरा गर्न स्कुलमा आयोजना हुने कार्यक्रमहरु सहभागी भएँ । त्यही क्रममा गायनमा करिअर बनाउने सोचले यस क्षेत्रमा लागेकी हुँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
डेढ सयभन्दा बढी भयो । जसमा सबै प्रकारका गीत रहेका छन् । म्युजिक भिडियोचाहिँ दुई सयभन्दा बढी गरिसकेँ । अहिले पनि गायन र मोडलिङ बराबरी नै गर्दै आएकी छु ।

आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफूलाई गायिका नै भन्न रुचाउँछु किनकि मोडलिङभन्दा गायन लामो समय टिक्छ । त्यसैले पनि आफूलाई गायिका भनेर चिनाउँछु । तर, अरुहरुले भने मोडलका रुपमा बढी चिन्छन् ।

तपाइँको प्राथमिकता गायन कि मोडलिङ ?
गायन नै हो । त्यसपछि मात्र मोडलिङ र अभिनय । तर, मलाई मोडलिङकै लागि धेरै प्रस्ताव आइरहेको हुन्छ । त्यसैले मोडलिङमा बढी व्यस्त हुने गरेकी छु ।

तपाइँ कस्ता गीत बढी गाउनुहुन्छ ?
मैले तामाङ भाषाका र नेपाली गीत बराबरी जस्तै गाएकी छु । जसमा लोकदोहोरी, तामाङ सेलो, म्हेन्दोमाया रहेका छन् । मलाई श्रोता तथा दर्शकले लोेकदोहोरीभन्दा पनि तामाङ भाषाका गीतले बढी चिन्छन् ।

आफ्ना केही चलेका गीत भन्नुपर्दा ?
थुप्रै छन् । खाशगरी ‘मन चरी’, ‘म त यस्तै हो’लगायत तामाङ भाषाका गीतहरु श्रोता÷दर्शकले बढी रुचाएका छन् । यसपालीको गाएको तीज गीत पनि श्रोताले बढी मन पराएका छन् ।

तपाइँलाई फिल्ममा नायिकाका लागि प्रस्ताव आएको छैन ?
अहिले आएको छैन । कोरोना महामारी अघिचाहिँ आउँथ्यो । मैले एउटा फिल्ममा अभिनय पनि गरेकी छु । र, फिल्म गर्न लाग्दा कोरोना महामारी आयो । त्यसपछि फिल्म गरिएन ।

आजभोलि फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
अब गर्दिनँ । गरेँ, भने आफैँले निर्माण गरेको फिल्ममा अभिनय गर्छु । तर, अरुको लगानी बन्ने फिल्ममा काम नगर्ने सोच बनाएकी छु ।

फिल्ममा लगानी गर्ने सोच बनाउँदै हो ?
हो, तर तत्काल होइन । अलि पछि एउटा राम्रो कथावस्तुमा फिल्म बनाउने सोच बनाएकी छु । जुन फिल्ममा आफैँ अभिनय गर्छु ।

तत्काल फिल्म बनाउनुप¥यो भने विषयवस्तु के रोज्नुहुन्छ ?
पछिल्लो समय नेपालको राजनीतिमा बालेन साहजस्ता स्वतन्त्रहरुले चर्चा पाइरहेका छन् । राजनीतिले देश र समाज तताइरहेको छ । त्यसैले वर्तमान राजनीतिक अवस्था र समाजमा घटेका र घटिरहेका घटनाक्रमलाई लिएर फिल्म बनाउँथे । पछि बनाउँदा पनि यर्थात घटनालाई नै लिएर फिल्म बनाउने सोच छ ।

तपाइँ अहिले सिंगल कि मिङ्गल ?
अहिलेसम्म चाहिँ सिंगल नै छु ।

अहिलेसम्म सिंगल किन ?
सायद नजुरेरै होला । अर्को कुरा, ध्यान करिअरतिर भएकाले मिङ्गल हुने सोच पनि बनाएकी छैन । र, विवाह भन्ने कुरा सोचेर मात्र पनि हुँदैन । जुर्नु पनि पर्दोरहेछ ।

प्रतिक्रिया दिनुहोस्