काठमाडौँ । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरे भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । यसैगरी खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४–० ले अघि रह्यो । खेलको ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६–० को जित दिलाए । बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।
यस जितसँगै समूह ‘ए’ मा रहेको बङ्गलादेशले ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिताअन्तर्गत नै आज हुने दोस्रो खेलमा समूह बी मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दैछ ।