Logo
Logo

उत्पादनका आधारमा कृषकलाई अनुदान


504
Shares

फाइल फाेटाे ।

कास्की । व्यावसायिक कृषकलाई सरकारले उत्पादनका आधारमा अनुदान दिएको छ ।

दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थामार्फत् प्रदेश सरकारबाट दूधमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान पाएका हुन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष ९ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम ४४ लाख ४६ हजार दिएको हो ।

केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे २ रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम दिएको जानकारी दिए । भने, ‘जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ ।’

कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन् । यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपंक्षी बिमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ ।

कृषि तथा पशुपक्षी बीमा संघ सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष ८ सय ६५ कृषकले आफ्ना पशुपक्षीको बीमा गराएका छन् । गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी ३ लाख १८ हजार ६२ पशुपक्षी बीमामा १ करोड १० लाख ८९ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपक्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्