
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने भएको छ ।
पेन्सनप्रति योगदानकर्ता आकर्षित गर्न यस्तो व्यवस्था गर्न लागेको हो । कोषमा योगदान रकम जम्मा गर्न लागेको २ वर्षपछि पेन्सन लिन थालेको ७ वर्ष पछिसम्म घातक रोग उपचार सुविधा लिन पाइने व्यवस्था थप गर्न लागिएको छ ।
‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ मा तेस्रो संशोधनमार्फत यस्तो व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । कोषले योगदानकर्ताको दम्पतीकै उपचार गर्दा पनि औषधी उपचार सुविधा पाइने व्यवस्था थप गर्न लागेको छ । अहिलेसम्म योगदानकर्ताको लागि मात्रै उपचार खर्च दिने व्यवस्था थियो ।
यस्तै, सामाजिक सुरक्षा कोषले प्रत्येक वर्ष योगदानकर्ताका ८४ जना सन्ततिलाई छात्रवृत्ति दिने भएको छ । कोषले प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुषले छात्रवृत्ति पाउने व्यवस्था गर्न लागेको हो । उनीहरूले तोकिएका ६ विषय अध्ययन गर्दा छात्रवृत्ति पाउने छन् ।
प्रस्तावित कार्यविधि अनुसार चिकित्सा शास्त्र, इन्जिनियरिङ, नर्सिङ, वनविज्ञान, कृषि र होटल म्यानेजमेन्ट अध्ययनका लागि छात्रावृत्ति वापत ५ लाख रुपैयाँ प्रदान गरिने छ ।