Logo
Logo

शशीकान्त अग्रवालको धन्दाः बोरा र बिल रिलायन्सको, चिनी तस्करीको


14.4k
Shares

काठमाडौं । तीन बर्षअघि केपी ओली नेतृत्वको सरकारले शशीकान्त अग्रवालहरुको प्रभावमा परी ४० प्रतिशत भन्सार महसुल निर्धारण गरेपछि नेपालमा चिनी आयात ठप्पजस्तै छ । तर तस्करीको चिनी भने दिनहुँ आयात भइरहेकै छ । तस्करीको चिनी नेपाली चिनी उद्योगको बोरामा प्याक गरी एकातिर प्रतिकिलो ५० रुपैयाँ प्रतिकिलो बिक्री गर्ने कार्य खुलेआम भइरहेको छ ।

गएको साउन ८ गते चितवनमा राजश्व छलेर ल्याएको चिनीसहित ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लियो । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पराजुली खाद्य उद्योग अगाडि रोकेर राखिएको लु २ ख १०३२ नम्बरको ट्रकलाई फेलापारी चेकजाँच गर्दा २१० क्विन्टल चिनी फेला परेको हो ।

उक्त ट्रक खानतलासी गर्दा प्रतिबोरा ५० किलो भएको ४२० वोरामा २१० क्वीन्टल चिनी भन्सार छली ल्याएको फेला परेको थियो । सो परिमाणको चिनीका बोराहरू भएको ट्रक राजस्व छली गरी ल्याएको र सो चिनीको मूल्य ५५ लाख ६९ हजार रुपैंया बराबरको रहेको प्रहरीले जानकारी दिएको थियो ।

त्यसैगरी पश्चिम नवलपरासीमा गएको साउन २२ गते सशस्त्र प्रहरीले एकै दिन ८० बोरा चिनी बरामद गरेको थियो । परासीका जिल्लाका बसैया, गेर्मी, भुजहवा, झुलिनीपुरलगायतका नाकाबाट चिनी तस्करी हुने गरेको छ । स्रोतका अनुसार भारतीय सीमा क्षेत्र नजिकै गोदाम राख्ने र थोरै थोरै परिमाणमा नेपाल भित्र्याएर विभिन्न जिल्लामा पठाउने गरिएको छ ।

भारतबाट तस्करी गरी भित्र्याइएको चिनीलाई नेपाली उद्योगको बोरामा प्याक गरी गरेर फर्जी बिल भर्पाई बनाएर बिक्री बितरण गरिन्छ । भारतमा प्रतिकेजी नेपाली ६४ रुपैयाँमा पाइने चिनी नेपाल भित्र्याएपछि १ सयदेखि १२० रुपैयाँसम्ममा बिक्री गर्न सकिने भएकाले यसको तस्करी बढेको हो । दशैं तिहारको समय भएकाले तस्करीको चिनी भित्रने क्रम बढेको छ ।

यी दुई प्रतिनिधि उदाहरण हुन्, नेपालमा दैनिकजसो तस्करीको चिनी बरामद हुने गरेका समाचार बारम्बार आइरहेका छन् । सरकारले आयात बन्द गर्ने तर तस्करीको चिनी भने दैनिक ब्यापक मात्रामा भित्रने गरेको छ । चिनी माफियाका रुपमा चिनिएका अर्बपति शशीकान्त अग्रवालको डिजाइनमा चिनीको भन्सार अत्यधिक बढाएर तस्करीको चिनी ल्याएर नेपाली उद्योगका बोरामा प्याक गरी बिक्री बितरण गर्ने कार्य भइरहेको छ ।

शशीकान्त अग्रवालको रिलायन्स चिनी मिल तस्करीको चिनी भित्र्याउनेमा अग्रपंक्तिमा पर्दछ । चितवनमा बराम भएको चिनीमा रिलायन्स चिनी मिल लेखिएको बोरा र बिल बरामद भएको र उक्त उद्योगसँग राजस्व अनुसन्धान कार्यालय चितवनले सोधपुछ समेत गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेपालका प्रायः सबै चिनी उद्योगमा शशीकान्त अग्रवालको शेयर रहेको र भारतबाट भन्सार छली तस्करी गरी ल्याएको चिनी नेपाली उद्योगको बोरामा प्याक गरी नेपाली उत्पादन भनी बिक्री बितरण गर्ने कार्यले सरकारलाई बार्षिक बीसौं करोड राजस्व मार्ने काम भइरहेको छ ।

शशीकान्तहरुको एकाधिकार, मनपरी मूल्य निर्धारण

तीन बर्षदेखि नै साल्ट ट्रेडिङलाई चिनी आयात अनुमति पनि रोकिएको छ । नेपालमा साल्ट ट्रेडिङले चिनी आयात गर्दा शशीकान्त अग्रवालहरुले बजारमा एकाधिकार(कार्टेलिङ) गर्न सकेका थिएनन् । तर ओली सरकारले चिनी आयातमा भन्सार महसुल १५ प्रतिशतबाट ३० प्रतिशत हुुँदै ४० प्रतिशत पुर्याएपछि नेपालमा चिनी आयात बन्द भयो । साल्ट ट्रेडिङलाई चिनी आयात गर्न नदिएपछि अग्रवालहरुको बजारमा एकाधिकार चलेकाले भारतीय बजारमा भारु ४० रुपैयाँ अर्थात् नेपाली ६४ रुपैयाँ प्रतिकिलो पाइने चिनी नेपालमा १ सय २० रुपैयाँ प्रतिकिलो तिर्न उपभोक्ता बाध्य छन् ।

नेपाली बजारमा औद्योगिक र घरायसी प्रयोजन गरी बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । नेपाली चिनी उद्योगबाट उत्पादित चिनी १६० देखि १७० मेट्रिक टनमात्र छ । बाँकी सबै आयात गर्नुपर्छ । तर भन्सारको अभिलेखमा गएको आर्थिक बर्षमा चिनी आयात भएको पाइँदैन । ८० मेट्रिक टन चिनी कहाँबाट आउँछ भन्दा तस्करीबाट आउने गरेको छ ।

शशीकान्त अग्रवालहरुले तस्करीको चिनी नेपाली उद्योगको लेबल लगाएर बिक्री गर्नका लागि चिनीमा भन्सार अत्यधिक बृद्धि गराएको तथ्य त घामजत्तिकै छर्लङ्ग छ । तर अहिलेको सरकार पनि तिनै चिनी माफिया शशीकान्तको प्रभावमा पर्दा नेपाली उपभोक्ता चर्को मूल्यमा चिनी किन्न बाध्य हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्