Logo
Logo

नबिल बैंकले गर्यो एकै दिन आठ नयाँ शाखाको उद्घाटन


2k
Shares

काठमाडौं । नबिल बैंकले एकै दिन आठ ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवानपाउ (डल्लु), साँखु, काँकडभिट्टा र भण्डारामा यही आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

उपत्यकाभित्रका शाखामा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्तरुपमा साँखु शाखा शाखा उद्घाटन गरेका थिए ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्तरुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडाध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरुपमा मुलपानी शाखा उद्घाटन गरेका थिए ।

त्यसैगरी काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडाध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्तरुपमा भगवानपाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए ।

त्यस्तै उपत्यका बाहिरका शाखामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तीन शाखा मेची नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सुरुंगा शाखाको र शनिबार इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए ।

त्यसका साथै राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्णदत्त भट्टराईले संयुक्तरुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।

बैंकले आफ्नो दीर्घकालीन रणनीतिअनुरुप शाखाहरू विस्तार भएको र नयाँ बजारमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका प्रमुख अतिथिले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तारसँगै स्थानीय जनताले बैंकका विभिन्न सेवा सुविधा बिना झन्झट पाउने वातावरण बनाउन अनुरोध गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले यी शाखामार्फत विस्तारित क्षेत्रमा थप मानिसलाई सेवा प्रदान गर्न सक्षम भएकामा खुशी व्यक्त गरेका थिए ।

बैंकले कार्यक्रमका अतिथि, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्य एवं बैंकका उच्चपदस्थ अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।

आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न सदैब प्रतिबद्ध रहेको जनाएको छ ।

विगत ३८ वर्षदेखि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाले ग्राहकलाई पूर्णरुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकता पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्