काठमाडौं । ५८औं राष्ट्रिय बाल दिवस, बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।
सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालअधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले बलात्कार र हत्याको संख्या बढ्दै गएको अवस्थामा सरकारमा रहने व्यक्तिका साथै अन्य सरोकारवालालगायत अभिभावक गम्भीर हुनुपर्ने बताए । उनले उमेर घटाएर मात्रै बालिकामाथि हुने हिंसाको अन्त्य हुन नसक्ने धारणा राखे । त्यस्तै मन्त्री रेग्मीले बाल सुधार गृहलाई पनि कारागार जस्तो नभई बालमैत्री बनाउनुपर्नेमा जोड दिए ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।
मुलुकको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर बाल अधिकारको पहुँचको मुद्दाको भने बेलाबखतमा बहस हुने गरेको छ ।