Logo
Logo

अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने सोच छ- नेना राई, फेसन डिजाइनर, दी पोश आउटफिटर्स


- दृष्टि न्युज/संवाददाता


‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने आममानिसको बुझाइ कायमै छ । त्यसैले सर्वसाधारण हत्तपत्त फेसन उत्पादन गर्ने ‘बुटिक’मा छिर्दैनन् । हुन त पछिल्लो केही वर्षयता नेपालीमा ‘फेसन सेन्स’ बढ्दो छ । त्यससँगै ‘बुटिक’को संख्या पनि । यस्तै, फरक विशेषतासहित फेसनपारखीको चाहना पूरा गर्ने उद्देश्यले नक्सालस्थित भाटभाटेनी नजिकै ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । उक्त बुटिकको नाममात्र होइन, काम पनि फरक छ । फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएको उक्त आउटफिटर्सले अन्तर्राष्ट्रियस्तरको पहिरन तयार गर्छ । ‘बुटिकमा सर्वसाधारणको पहुँच पुगोस्’ भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको आउटफिटर्सले स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ छ । नेना र सम्झना आईआईएफटीकै उत्पादन डिजाइनर हुन् । ‘दी पोश आउटफिटर्स’की डिजाइनरमध्ये एक नेना राईसँग एमपी सुब्बाको जम्काभेट ।

‘दी पोश आउटफिटर्स’ विदेशी ब्राण्डको जस्तै सुनिन्छ नि ?

यो कुनै विदेशी ब्राण्ड नाम होइन, आफैँले जुराएको हो । यहाँ बुटिकहरु धेरै छन् । तर, सबैले कमन लाग्ने नाम राखेका हुन्छन् । त्यसमा केही फरक देखाउने सोचले यो नाम जुराएको हो । नाम सँगै काम पनि फरक गर्ने सोच छ ।

‘बुटिक’ भन्नेवित्तिकै फेसनेवल पहिरन तयार गर्ने भन्ने बुझिन्छ । फरकचाहिँ कसरी हुनसक्छ ?

आममानिसको सोच पनि त्यही छ । बुटिकको लुगा महँगो हुन्छ, अनि सारी, लेहेँगा, गाउन मात्र बनाइन्छ भन्ने बुझाइ छ । तर, दी पोश आउटफिटर्स त्यस्तो होइन । यहाँ देखिरहनुभएको छ, हामीले सारी, लेहेँगा र गाउनलाई खाशै फोकस दिएका छैनौँ । हामीले स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी क्याजुअल पहिरनलाई प्राथमिकता दिएका छौँ । त्यो पनि अन्तर्राष्ट्रियस्तरको सर्वसुलभ मूल्यमा । हामी आफ्नै ब्राण्ड स्थापित गर्ने उद्देश्यले यो आउटफिटर्सलाई सञ्चालनमा ल्याएका हौँं ।

नेपाली नारीको पर्व तीज नजिकिँदै छ । तीजका लागि विशेष केही छ ?

तीजलाई विशेष भनेर छैन । तर, अर्डर आयो भने हामी तयार गछौँ । हरेक बुटिकले तीज विशेष भनेर सारी, गाउन र कुर्था–सुलवालहरुको शो गरिरहेका छन् । तर, हामीले गरेका छैनौँ । तीजमा आुधनिक फेसन गर्न चाहनेका लागि भने हामी पहिरन तयार बनाइदिन्छौँ ।

बुटिक खोल्ने सोचचाहिँ कसरी आयो ?

सोच पहिलेदेखि थियो । तर, त्यतिखेर घरपरिवारको साथ मिलेन र समय पनि भएन । त्यतिकैमा म लण्डन गएँ । लण्डनमा ६ वर्ष बस्दा अन्तर्राष्ट्रिय फेसनबारे बुझ्न पाएँ । त्यसपछि फेसन डिजाइनर नै बन्छु भनेर नेपाल आएकी हुँ । यहाँ आएपछि मेरो मिल्ने साथी सम्झना राईसँग आईआईएफटीमा डिजाइनर कोर्ष गरेपछि आउटफिटर्स सञ्चालनमा ल्याएका हौँ । यसको औपचारिक उद्घाटन भोलि बुधबार हुँदैछ ।

लण्डन केका लागि जानुभएको थियो ?

म स्टडीका लागि गएकी हुँ । त्यहाँ स्टडी गरिरहँदा पनि डिजाइनर बन्छु भन्ने सोच बनाइरहेकी थिएँ ।

उद्घाटन नगरी नै बुटिक चलिरहेको छ त ?

अँ, चलिरहेको छ । चिनेका-जानेका र साथीहरु आएर अर्डर गरिरहेका छन् । अर्डर र उद्घाटनका लागि तयारीले गर्दा अहिले भ्याइनभ्याई छ ।

बुटिकहरुको भीडमा प्रतिस्पर्धा त होला ?

हामी त्यो प्रतिस्पर्धामा जाँदैनौँ । हाम्रो विशेषता नै फकर छ । गुणास्तरिय, सस्तो र फास्ट डेलिभरी हाम्रो विशेषता हो । ग्राहकले आफूलाई चाहेको पहिरन अर्डर गरेपछि कसरी तयार गर्छ भनेर हेर्न मिल्ने गरी कालिगढ यही राखेका छौँ । जसले गर्दा अर्जेन्ट हुनेले आफ्नै अगाडि लुगा तयार गरेर लैजान सक्छ ।

यहाँ लगानी कति गर्नुभएको छ ?

अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसक्यो । स्पेश फराकिलो भएकाले जति कपडा राखेपनि खाली देखिएको छ । त्यसैले अझै लगानी बढ्लाजस्तो छ ।

पछिल्लो समय मान्छेहरु किन बुटिकतिर आकर्षित हुन थालेजस्तो लाग्छ ?

पहिलो कुुरा हामी नेपालीमा फेसन सेन्स बढ्दै गएको छ । यो राम्रो कुरा हो । सबै जनामा राम्रो लगाऊँ भन्ने भावना बढ्दै गएको छ । जसले गर्दा बुटिकहरु बढ्दै गएको छ । बुटिक बढ्दै जानुको अर्को कारण फेसन डिजाइनरसम्बन्धी इन्ष्टिच्युट र कलेजहरु सञ्चालनमा आउनु हो । पहिले त्यस्तो सुविधा थिएन ।

तपाइँको बुझाइमा फेसन के हो ?

फेसन यो हो, जुन आफूले लगाएको पहिरन आईक्याचिङ होस् । अरुभन्दा भिन्न र आफूलाई कम्फाटेवल लाग्ने पहिरन नै फेसन हो ।

‘दी पोश आउटफिटर्स’को उद्देश्य के छ ?

हाम्रो उद्देश्य भनेको यो नामलाई अन्तर्राष्ट्रियसम्म पु¥याउनु हो । अहिलेलाई लेभल स्टिकर बनाएका छौँ । तर, चाँडै ट्रेडमार्कमा जाने सोच छ ।

प्रतिक्रिया दिनुहोस्