Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

चोलेन्द्र नजरबन्दमादेखि निजगढमै विमानस्थल उपयुक्त हुने निष्कर्षसम्म


1.4k
Shares

१. महाभियोग टुङ्गो नलागी सर्वोच्च अदालत जान खोजेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नजरबन्दमा, सुरक्षाकर्मी र भीभीआईपी कार खोसियो, उनको निवासमा सुरक्षा प्रहरीले बढायो सतर्कता, जबराले सफाइ पाइसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह ।


२. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु, पहिलो दिन ठूला दलबाहेक केही दलबाट मात्रै बुझाए, जसपा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची, नेकपा माओवादी केन्द्रले सोमबार मात्रै बुझाउने, सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था ।


३.प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेद्वारा समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित, प्रतिनिधिसभाको लागि ५७ जना महिलासहित एक सय १० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम छनोट, यसअघि समानुपातिकबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेका यसपटक समेटिएनन्, आदिवासी जनजातितर्फ ३२, खर्स आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेसीतर्फ १७ जना ।


४. निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्री शेरबहादुर देउवालाई विज्ञ समूहद्वारा अध्ययन प्रतिवेदन हस्तान्तरण, नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिका लागि बढ्दो हवाई ट्राफिक धान्नसक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको ठहर, रुख कटानी विभिन्न चरणमा गर्न सुझाव, अन्तर्राष्ट्रिय हवाई रुट दुईतर्फी गर्न सकिने ।


५. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी, तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय आममाफी, नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको भनाइ ।


६. नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर, यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने, राष्ट्रिय निर्देशक हदाद–जर्भोसले नेपालको व्यापार वृद्धिका लागि दीर्घकालीन दिगोपन र लगानीको उत्थानशीलता सुनिश्चित गरी नवीन डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन र नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने विश्व बैंक प्रतिबद्धता ।


७. सिटामोलको मूल्य तत्काल नबढाइने, स्वास्थ्य मन्त्रालयमा आइतबार साँझ सरोकारवालासहित बसेको बैठकको यस्तो निर्णय, अहिलेलाई तत्काल बजारमा सिटामोल अभाव हुन नदिन उत्पादन बढाउन निजी कम्पनीलाई अनुरोध गर्ने र नेपाल औषधि लिमिटेडलाई निर्देशन दिने निर्णय, आवश्यकता भएको ठाउँको पहिचान गरेर सिटामोल वितरण गरिने ।


८. राजस्व अनुसन्धान विभागले माग्यो मालपोतहरुबाट घरजग्गा कारोबारको विवरण, घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंका, ठूला कारोबार र उच्च मूल्यका शहरी क्षेत्रका कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी आएको भनाइ, सिमराको एउटा कारोबारको विषयमा अनुसन्धान सुरु, १८ विगाहाको जग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको आशंका ।


९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले गिरावट, ३३ दशमलव ९७ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ अङ्कमा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स ६ दशमलव शून्य चार अङ्कले घट्यो, दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार चार सय ४५ कित्ता शेयर एक अर्ब ६० करोड १८ लाख २२ हजार नौ सय ५५ रुपैयाँमा कारोबार, १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट ।


१०. भारतकी राष्ट्रपति द्रौपदी मुर्मुद्वारा महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि, महारानीको पार्थिव शरीर कफिनमा, पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते, मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा कम्तीमा ४३ जना लडाकु मारिए, संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्