Logo
Logo

प्रतिगामी र दक्षिणपन्थी शक्तिबाट संविधानमा खतरा : अध्यक्ष नेपाल


945
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान मासेर विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई झुक्याउने प्रपन्च गरिरहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको बताएका हुन् । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण उनले गरेका छन् ।

नेपालले सन्देशमा भनेका छन्, ‘तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं । २–२ पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतीका विरूद्ध पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ ।’

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि रहेको अध्यक्ष नेपालको भनाइ छ ।

‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ नेपालको सन्देशमा भनिएको छ ।

जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने आफ्नो अभियानमा नागरिकबाट सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णय हुने नेपालले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्