चितवन । नारायणगढ क्याम्पाचौरमा सम्पन्न इसुजु चितवन गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे ।
खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । सुदील खेलको म्यान अफ दि म्याच भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता आर्मीले उपाधिसहित ७ लाख रुपैयाँ र एपिएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भए ।
केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए । यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०(२० हजार रुपैयाँ प्राप्त गरे ।