Logo
Logo

सशस्त्रमा तक्माको चक्मा



काठमाडौं । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषणको सूची देखेर सशस्त्र प्रहरी बलका अधिकारी अचम्मित भएका छन् । सिनियर अफिसरले चाकडी र चलखेलकै आधारमा विभूषण हात पारेका छन् ।

यसपटक विभूषण पाउनेमा एक्ला डिआइजी अभि खत्री हुन् । उनले करिब दुई वर्ष कर्णालीको बाहिनी चलाए । एसएसपी हुँदादेखि नै उनलाई त्यहाँ राखिएकोमा गत वर्षको सरुवामा पनि चलाइएन । हालै मात्र हेडक्वार्टर सरुवा भएका उनले विभूषणसमेत पाएका छन् ।

नेपाल प्रताप सुभुषण पाउने खत्री मुख्यालयको लेखा स्टोरमा भएको आगलागीको घटनाका संलग्न भएको आरोप लाग्ने गरेको छ । भ्रष्टाचार लुकाउन योजनाबद्ध रुपमा सो आगलागी भएको थियो । यद्यपी, तल्लो तहकालाई कारबाही गरेर त्यसमा उनलाई जोगाइएको थियो ।

तक्मा पाउने अर्का बिबादित पात्र हुन् एससी विकास घिमिरे । आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने उनले शक्तिकेन्द्रको चाकडी गरेकै कारण प्रबल जनसेवाश्री हात पारेका छन् । उनलाई दुई वटा विभूषण दिने निर्णय भएको छ ।

कमाण्ड र कमाईबिना बस्न नसक्ने एसपी भरत खनिया पनि सिफारिसमा परेका छन् । ३६ नम्बर गण डोटीमा गणपति हुँदा कमाउ धन्दाका लागि २७ नम्बर गण रुपन्देही काज गएका उनी लगातार इन्चार्जका रुपमा हाल सर्लाहीमा कार्यरत छन् । पैसाकै बलमा उनले विभूषण पाएको चर्चा छ ।

जनसेवाश्री पाउने डिएसपी महेन्द्र हमाल बिबादित लेखा अधिकृत हुन् । लेखामा बसेर उनले अकुत आर्जन गरिसकेका छन् । उनले एपिएफ अस्पताल नजिक रहेको भूकम्पले चर्काएको घर ९ करोड रुपैयाँमा बेचेर अहिले स्वयम्भू नजिक ५ तले आलिसान महल खडा गरेका छन् । उनीसहित लेखाकै सइ नरेन्द्र थापा बिगत ५ वर्षदेखि केन्द्रीय लेखामा कार्यरत डिएसपी गणेश मल्लको सेटिङमा तक्मा पाउन सफल भएका हुन् ।

यस्तै, प्रधानमन्त्रीको निवासमा बसेकै कारण इन्सपेक्टर सुरज बस्नेत तक्मा पाउन सफल भएका छन् । अर्का इन्सपेक्टर जयराम बस्नेत भण्डार शाखामा कार्यरत रहंदा कमसल सामान खरिदमा मुछिएका विवादित अधिकृत हुन् । हाल महोत्तरीको सम्सी बिओपीमा समेत तस्करी धन्दा चलाइरहेका उनी समेत तक्मा पाउनेमा परेका छन् ।

बिगतमा समेत सशस्त्र प्रहरीमा ढोके चम्चे र शक्तिकेन्द्रको चकडी गर्नेले तक्मा पाउंदै आएका थिए । अहिले पनि तिनै व्यक्ति हाबी भएका छन् । अन्य तक्मा पाउने डिएसपी रविन भुजेल, एसपी टोपबहादुर खनाल समेत शक्तिकेन्द्रको आशीर्वाद पाएका कारण सिफारिसमा परेका छन् । सिफारिसमा पर्ने जुनियर अधिकृत तथा सिपाही हबल्दारसमेत गृह मन्त्रालय र नेताको घरमा कार्यरतहरू परेका छन् ।

संगठनमा राम्रो काम गर्नेहरू उपेक्षित भएपछि विभूषणले संगठनमा असन्तुष्टि देखिएको छ । नेपाल प्रहरीको बढुवामा विूभषणको नम्बर हटाइए पनि सशस्त्रमा भने कायमै राखिएकाले यसमा धेरै चलखेल हुने गरेको छ । सोही कारण कतिपयले आइजिपीको सिफारिस बिना नै विभूषण हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्