Logo
Logo

बागलुङमा डेंगु संक्रमण बढ्दो, परीक्षणका लागि किट अभाव



बागलुङ । यहाँ डेंगु रोगको संक्रमण बढ्दै गएको छ । धवलागिरि अस्पतालमा डेङ्गुका लक्षण भएका बिरामीको चाप बढिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौमा २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा यो वर्ष ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ९ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निर लक्ष्मी शर्माले जानकारी दिइन् । ‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रामा किट आएको छ । आउने क्रम जारी छ ।

तर डेङ्गुका बिरामी बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ,’ उनले भनिन्, ‘अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’ डेङ्गु रोगको लक्षणसहितका बिरामीको संख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

‘ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ,’ उनले भने । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ ।

लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ ।

यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्