Logo
Logo

मुख्यसचिवको आडमा ठगीधन्दा



काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलगायत उच्च पदस्थ व्यक्तिसँग निकटता बनाएर एक व्यक्तिले ठगी धन्दा चलाएका छन् । पाल्पाका भेषराज लुईटेलको यस्तो ठगी धन्दाबाट दर्जनौं व्यक्तिहरू पीडित भएका छन् । केहीले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

ठूला ठेक्का दिलाउनेदेखि सरुवा–बढुवा गराइदिने तथा विदेशमा छोराछोरीलाई छात्रवृत्ति मिलाइदिनेसम्मका आश्वासन दिएर लुँइटेलले ठगी गर्दै आएका छन् । एक पीडितका अनुसार मुख्यसचिव बैरागी र भारतीय दूतावासको उनलाई संरक्षण रहँदै आएको छ ।

ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंहलाई पनि उनले ठगी गरेका थिए । जुन ठगी प्रकरण प्रहरी हुँदै अदालतमा पुग्यो । काम गराइदिने भन्दै उनले लाखौं लिएका थिए । काम गर्न नसकेपछि नेपाल इन्भेष्टमेन्ट बैैंकको चेक दिएका थिए ।

सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिएर पक्राउ गराएकी थिइन् । जुन घटनामा उनी पक्राउ परे । चेक बाउन्स मुद्दामा अदालतले उनलाई दोषीसमेत ठहर गरेको छ ।

पछि धेरै व्यक्तिले उनीविरुद्ध चेक बाउन्सको उजुरी गरेपनि उनी दबाब र प्रभावको भरमा १–२ दिनमै छुट्ने गर्दछन् । उनीबाट पीडित रहेका कतिपय व्यक्तिहरू प्रतिष्ठित भएकाले उनीहरू प्रहरीमा जान सकेका छैनन् ।

उनले व्यापारी बिनोद चौधरीलाई समेत ठगी गरेको स्रोत बताउँछ । त्यस्तै, एभरेष्ट होटलका सञ्चालक मशुर अहमद लारी, कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानीबोर्डका सदस्य बालकृष्ण शिवाकोटीसमेत उनीबाट पीडित छन् । बबरमहलस्थित रिभिजिटेड होटल छेउमा जग्गा भएका रायमाझी खलकसमेत लुइँटेलबाट पीडित बनेका छन् ।

त्यस्तै, चितवनका केशबप्रसाद कँडेललाई चुनावमा टिकट दिलाइदिने भन्दै उनले करोडौं लिएर फिर्ता गरेका छैनन् । पैसा फिर्ता माग्दा कतिपयलाई उनले भारतीय दूतावासबाट फोन गर्न लगाएर धम्काउने गरेको एक पीडितले बताए ।

दूतावासका अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही निकटस्थल व्यक्तिलाई उनले प्रभावमा छन् । आफ्नो मोदीसँग पहुँच भएको देखाएर समेत उनले नेपालका करोडपतिहरूलाई ठगी गरेका छन् । ‘उनले यसरी असुलेको ५० करोड भन्दा धेरै तिर्न बाँकी छ,’ एक पीडित भन्छन्,‘यस्ता व्यक्तिसँग मुख्यसचिवको निकटता देखेर हामीलाई अचम्म लागेको छ ।’ ठगी गरेको पैसाबाट उच्चपदस्थलाई उपहार दिने र त्यही आडमा उनी जोगिदै आएका छन् ।

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा केही व्यक्तिलाई बयानमा बोलाएर पैसा असुल्ने धन्दा पनि उनले गरेका थिए । आफैं उजुरी हाल्ने र धम्काएर फाइदा लिने धन्दामा उनी संलग्न थिए । केही उच्च पदस्थ व्यक्तिसँगको निकटताकै आधारमा उनले नटवलरलाल शैलीमा आफ्नो धन्दा बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्