धनगढीमा । अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडौं जाने मानेका छैनन् ।
अनसनको ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडौं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘उहाँको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्,’ जोशीले भने, ‘त्यसैले केसीले काठमाडौं जानै पर्ने हुन्छ, उहाँको टोलीसँग कुरा भइरहेको छ ।’
केसीले नमानेमा बल प्रयोग गरेर भए पनि काठमाडौं लग्न सकिने उनले संकेत गरे । ‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो,’ सूचना अधिकारी जोशीले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल बन्दै गएको छ, उहाँलाई काठमाडौं लग्नुको विकल्प छैन ।’
उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ । डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेको डाक्टर केसीको उपचारमा सम्लग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।
‘रक्तचाप घटेर ४० मा पुगेको छ,’ कमरले भने, ‘सुगरको मात्रा धेरै कम छ, आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन, हामीले जतिसक्दो छिटो काठमाडौं लैजान सुझाव दिएका छौं ।’
स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।












