Logo
Logo

राष्ट्रपतिबाट गणतन्त्रमाथि नै जोखिम भएको वृहत नागरिक आन्दोलनको ठहर


4k
Shares

काठमाडौं । वृहत नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम भएको ठहर गरेको छ ।

आन्दोलनले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिले पदको गरिमा राख्न नसकेको भन्दै उनीबाट लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न भएको बताएको हो ।

विज्ञाप्तिमा भनिएको छ– ‘संविधान उल्लंघन गर्दै बलमिच्याईं गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ, त्यसैले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने वृहत नागरिक आन्दोलनको ठहर छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भन्दै यो घटना उनलाई महाअभियोग लगाउन पर्याप्त हुने आन्दोलनको भनाइ छ ।
राष्ट्रपति संस्थाको मुख्य दायित्व संवैधानिक संस्कारलाई बलियो बनाउने र संविधानको रक्षा गर्ने हो भन्दै विज्ञप्तिमा जननिर्वाचित निकायको निर्णय उल्ट्याउन राष्ट्रपति पद सिर्जना नगरिएको उल्लेख गरिएको छ ।

‘कुत्सित उद्धेश्यसहित बारम्बार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यता धुलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमामय पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो’ विज्ञप्तिमा भनिएको छ ।

वृहत नागरिक आन्दोलनले नागरिकता विधेयकमा भाँजो हालेर राष्ट्रपतिले लामो समयदेखि अनागरिकका रूपमा रहेका लाखौँ व्यक्तिलाई नागरिक हुनबाट वञ्चित गरेको आरोप लगाएको छ । अनागरिकलाई नागरिक बनाउने उद्देश्यले ल्याइएको विधेयकलाई सरकारले अविलम्ब जारी गर्ने संवैधानिक बाटोको खोजी गर्नुपर्ने बृहत नागरिक आन्दोलनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्