काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको हात्तिसार क्षेत्रमा टुकुचा (जमिन)माथि बनाइएका संरचनामा कुनै पनि क्षति पुग्नेगरि काम नगर्नर/नगराउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखका घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश किरण पोखरेलको इजलासले कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको हो ।
उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त आदेश निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न २६ असोजमा दुवै पक्षलाई अदालतमा बोलाइएको छ ।
बुधबार जारी आदेशमा छलफलमा आउँदा टुकुचा खोला उत्खनन् गर्ने निर्णय सम्बन्धी कागजातसमेत ल्याउन भनिएको छ ।
यही गएको मंगलबार हात्तिसार क्षेत्रका २१ जनाले आफ्नो जमिनमा बनेका घर टहरामा डोजर लगाउने महानगरको निर्णयविरूद्ध रिट दिएका थिए ।












