Logo
दृष्टिका १० हेडलाइन्सः

दुर्घटनामा १२ जनाको मृत्युदेखि राष्ट्रपतिको कदमविरुद्ध रिटसम्म



१. मकवानपुरको भीमफेदी र रुकुमपूर्वको भूमे गाउँपालिकामा भएको यातायात दुर्घटनामा १२ जनाको मृत्यु, भीमफेदी गाउँपालिकाको जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जना र भूमे गाउँपालिकाको क्याङ्सी बगरमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु, दुबै दुर्घटनाका घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार हुँदै ।

२. संसद्ले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट, पाँचवटै रिट सर्वोच्च प्रशासनले दर्ता गरिसकेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलद्वारा जानकारी, अधिवक्ताहरू सुनिलरञ्जन सिंह, सागर बराललगायतले दायर गरेका रिटको पेसी शुक्रबारलाई तोकियो ।

३. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूद्वारा प्रदर्शन, सांसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा धेरै नेपाली अनागरिक भएर बाँच्नुपर्ने अवस्था बनेको जिकिर, नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै राजीनामा माग ।

४. नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेका राष्ट्रपतिको बचाउमा एमाले, नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धन राष्ट्रपतिलाई बदनाम गराउन क्रियाशील रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, नागरिकताको विषयलाई सत्ता गठबन्धनले चुनावी एजेण्डा बनाउँदै एमालेविरुद्ध प्रयोग गर्न खोजेको दाबी ।

५. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गए पनि सत्तारुढ पाँच दलीय गठबन्धले सिट बाँडफाँट टुङ्गो लगाउन सकेन, गठबन्धनमा आवद्ध पाँचै दलको आ–आफ्नै अडान कायम रहँदा कुरा मिलेन, गठबन्धनमा कुरा नमिल्दा नेता कार्यकर्ता अन्योल ।

६. सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर घोषणापत्र निर्माणको तयारी थाल्यो, महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४२ नेता घोषणापत्र निर्माणमा व्यस्त, कांग्रेसको घोषणापत्र तयारी समितिमा साहित्यकार श्रवण मुकारुङदेखि अर्थविद् डा. स्वर्णिम वाग्लेसम्म ।

७. बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, बिना लगानी सहजै ब्याज आउँछ भने किन उत्पादनमा लगाउने भन्ने मानसिकता त्याग्नुपर्नेमा जोड, उत्पादन क्षेत्रलाई विशेष प्राथमिकता दिने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, बिहीबार ९ दशमलव ८३ अङ्कले ओरालो लागेर १ हजार ८ सय ३८ दशमलव ९६ अंकमा सीमित, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अङ्कले ओरालो लागेर ३ सय ५९ दशमलव ४३ मा सीमित ।

९. बंगलादेशीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा, कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईद्वारा २३ सदस्यीय टिमको सूची जारी, नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा असोज ११ गते हुने ।

१०. पछिल्लो राजनीतिक घटनाक्रमपछि श्रीलंकाले ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गर्दै, वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतभन्दा बढी, खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस्