Logo
Logo

उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक : गृहमन्त्री


756
Shares

भैरहवा । गृहमन्त्री बालकुष्ण खाणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताएका छन् । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्न पनि आवश्यक रहेको चर्चा गरे ।

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो’, उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।’

मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे । मानव जीवनको सुरुआतमा खराबी भएपनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको बताए । साथै गृहमन्त्री खाणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने बताए । ‘उचित रेखदेखका लागि सरकारले बजेट व्यवस्थापन गरेर उहाँको जीवन सहज बनाउने निर्णय गरिएको छ’, उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धनमा सरकार लागेको बताए । यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिकस्थलको विकास र यसको प्रवद्र्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्