Logo
Logo

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री


567
Shares

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताएका छन् ।

मध्यपुरथिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई सङ्कटतर्फ धकेल्न खोजेको बताएका हुन् ।

मन्त्री भुसालले भने, ‘नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर संकटतर्फ धकेल्नुभएको छ ।’

मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई संकटतर्फ धकल्न त खोजिएको होइन भन्ने आशंका पैदा भएको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत हुने बेला आएको बताए । विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरेअनुरुप नै आएको नागरिकता विधेयक दुवै संसद्बाट पारित गरेको भन्दै मन्त्री भुसालले नागरिकता विधेयकका विषयमा भ्रममा नपर्न आग्रह गरे ।

संविधानअनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुवै संसद्ले पारित गरेको नागरिकता विधयेक प्रमाणीकरण नगरेर भ्रम फैलाउन खोजिरहेको भन्दै उनले राष्ट्रपति जस्तो सम्मानित संस्थाले जनताको आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिए । नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन हुँदा स्कुल–कलेज पढ्न, बैंकमा खाता खोल्न, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको मन्त्री भुसालको भनाइ छ ।

उनले भने, ‘सायद पहिलो चोटी भएर हो कि, अज्ञानताले हो कि, अथवा अरु कुनै दबाब वा निहीत स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरि कुनै राजनीतिक दुर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवी, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस्