काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा संस्थापनइतर पक्षको नामावली १३ जनामात्र परेका छन् । संस्थापनपक्षले तयार पारेको १०९ जनाको नामावलीमा संस्थापनइतरका १३ जना मात्र परेका हुन् ।

संस्थापनइतरबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।
बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ ।
संस्थापनपनइतरले सिट बाँडफाँटमा आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने बताइरहेका बेला समानुपातिकतर्फ एकदमै न्युनमात्र पारिएको छ । जसले गर्दा संस्थापनइतर रुष्ट बनेको छ । कोइरालाले पक्षले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी समेत दिएको छ ।
नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् । शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिकतर्फ सिफारिस गरिएपनि बन्द सूचीमा राखिएको छैन ।












