काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

असोज ७ गते बसेको बैठकले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको कार्कीले जानकारी दिए ।
बैठकले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने, दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रशारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३,४,५, ६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने, विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
सरकारले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९/०८० को लागि अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।