Logo
Logo

प्रचण्डले नपत्याएपछि जिल्ला पुगेर तमासा



धनकुटा । आइतबार ‘धनकुटामा माओवादी रित्तियो’ शीर्षकका समाचार सञ्चारमाध्यममा प्रकाशित भए । पोलिटब्युरो सदस्य हेमराज भण्डारी ‘सुदर्शन’को नेतृत्वमा केही नेताले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि यस्तो समाचार प्रकाशित भएको हो ।

पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगानासहित १ सय ५० जनाले सामूहिक राजीनामा दिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख थियो । तर, ति को–को हुन भन्ने अहिलेसम्म कतै खुलेको छैन ।

पत्रकार सम्मेलनमार्फत उनीहरूले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तर्फबाट नभइ स्वतन्त्रबाट उम्मेदवार बन्ने पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए ।

निर्वाचनको मुखैमा सामूहिक राजीनामा दिनुपर्ने कारणबारे भण्डारीले पत्रकार सम्मेलनमार्फत गठबन्धनबीच सिट बाँडफाँट हुँदा प्रतिनिधिसभा माओवादीले नपाउने भएपछि राजीनामा दिनुपर्ने अवस्थामा पुगेको बताएका थिए ।

धनकुटाका माओवादी नेताले राजीनामा दिनुको कारण सिट बाँडफाँट नै रहेको नेताहरू बताउँछन् । गठबन्धनबीच छलफलका क्रममा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटा नेपाली कांग्रेसको भागमा पर्ने लगभग निश्चित छ । त्यस्तो अवस्थामा राप्रपा हुँदै कांग्रेस प्रवेश गरेका सुनिल थापाले टिकट पाउने पक्का मानिन्छ ।

धनकुटामा कांग्रेसले प्रतिनिधिसभाको टिकट नपाए पनि जनता समाजवादी पार्टी (जसपा)ले टिकट पाउने सम्भावना बलियो रहेको बुझिन्छ । त्यहाँ जसपाका नेता रकम चेम्जोङ टिकट पाउन सक्ने सम्भावित हुन् । उनी गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलका सदस्य पनि हुन् ।

धनकुटामा कमजोर माओवादी

धनकुटामा माओवादी चौथौं शक्ति हो । गठबन्धन दलमा माओवादीभन्दा पनि जसपा बलियो छ । त्यसैले कांग्रेस र जसपाले दाबी नगरेको अवस्थामा मात्र माओवादीले टिकट पाउनसक्ने स्थानीय माओवादी कार्यकर्ता नै स्वीकार गर्छन् ।

माओवादी प्रदेश १ ले पार्टी सबैभन्दा कमजोर भएको जिल्लाको रूपमा धनकुटालाई लिने गरेको छ । एमालेले एकछत्र राज गर्दै आएको धनकुटामा पार्टीले विकास गर्न नसकेको माओवादीको आन्तरिक विश्लेषण रहेको छ ।

एक्लै चुनाव लड्दा माओवादीले धनकुटामा एउटा वडा पनि जित्न नसक्ने विश्लेषण हुने गरेको छ । गत निर्वाचनमा भने गठबन्धन भएका कारण माओवादीले केही वडा र पालिका उपाध्यक्ष जितेको छ । ७४ को निर्वाचनमा धनकुटामा माओवादी ‘क्लिन स्वीप’ भएको थियो । त्यतिखेर हेमराज जिल्ला इन्चार्ज थिए ।

प्रचण्डले नपत्याएपछि
जिल्लामा पार्टी अत्यन्तै कमजोर भए पनि धनकुटेली माओवादी नेता हेमराज भण्डारी भने कुनै न कुनै रुपमा लाभ लिने नेताका रुपमा चिनिन्छन् । हाल पोलिटब्युरो सदस्य रहेका हेमराज संविधानसभाका सदस्य हुन् ।

जिल्लामा पार्टी बलियो बनाउन नसके पनि पार्टी अध्यक्ष प्रचण्डलाई प्रभावमा पारेर निरन्तर पार्टी सत्ताको लाभ लिइरहने नेताका रुपमा उनलाई आरोप लाग्ने गरेको छ ।

पछिल्लो समय भने हेमराजलाई प्रचण्डले पत्याउन छाडेका छन् । बारम्बार अवसर दिँदा पनि पार्टी बनाउन नसकेको भन्दै प्रचण्डले पत्याउन छोडेपछि उनी यता ना उताका भएका छन् । उनका पछिल्ला गतिविधि प्रचण्ड इतर समूहसँग नजिक देखिन्छ ।

केही समय अगाडि हेमराज टिकट माग्न प्रचण्ड निवास पुगेका थिए । हेमराजले प्रचण्डसँग अघिल्लो निर्वाचनमा पनि टिकट नपाएकाले यसपटक जसरी पनि प्रतिनिधिसभाको टिकट पाउनुपर्ने माग राखेका थिए । पार्टीले टिकट पाउँदा आफूले पाउनुपर्ने उनको माग थियो ।

प्रचण्डले भने यसपटक पनि पार्टीले धनकुटा नपाउने वस्तुगत अवस्था सुनाएका थिए । प्रचण्डले ग्राविटीको आधारमा पनि कांग्रेस वा जसपाले पाउनसक्ने भनेपछि हेमराज प्रचण्ड निवासबाट फन्केर हिडेका थिए ।

‘हेमराजको स्वार्थमा केही नेता प्रयोग भए’
काठमाडौंबाट फन्केर धनकुटा पुगेका हेमराजले केही नेतालाई आफ्नो स्वार्थअनुसार राजीनामा दिन लगाएको धनकुटाका माओवादी नेताले समेत आरोप लगाएका छन् । एक नेताले भने– ‘पार्टी कमजोर छ । कजमोर धरातल भएका कारण प्रतिनिधिसभाको टिकट पार्टीले पाउने सम्भावना कम हो । यो कुरा सुदर्शन कमरेडलाई पनि थाहा भएकै कुरा हो । तर, उहाँले आफ्नो चहनामा केही नेतालाई प्रयोग गर्नुभयो । यो पार्टीको हितविपरीत छ ।’

ति नेताले थपे– ‘जिल्लामा हाम्रो पार्टीको अवस्था हामीलाई राम्ररी थाहा छ । पार्टी बनाउने भन्दा पनि बिगार्ने भूमिकामा उहाँहरू सक्रिय रहेको कुरा त लुकेको छैन । पार्टी एक्लैले एउटा वडा जित्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा प्रतिनिधिसभा ताक्ने कुरा स्वभाविक हुँदैन ।’

आफ्नो चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुन पाउनुपर्ने नेता कार्यकर्ताको चाहना रहेता पनि अहिलेको अवस्थामा गठबन्धनलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको ति नेताको भनाइ रहेको छ ।

दृष्टिन्यूजसँग कुरा गर्दै ति नेताले जिल्लामा रहेका शीर्ष नेतृत्व हेमराजकै चाहनाका कारण निर्वाचनको मुखमा जिल्लामा पार्टी झनै कमजोर भएको आरोपसमेत लगाएका छन् ।

माओवादीले प्रदेशसभा गुमाउन सक्ने

धनकुटमा माओवादीलाई प्रतिनिधिसभा नदिए पनि प्रदेशसभा दिने सन्दर्भमा केन्द्रीयस्तर र प्रदेशस्तरमा समेत छलफल भइरहेको  छ । प्रतिनिधिसभा लिएर प्रदेशसभा माओवादी र जसपालाई दिन कांग्रेस समेत तयार रहेको बुझिन्छ ।

कमजोर अवस्था भए पनि गठबन्धनबाट प्रदेशसभा पाउन लागेको माओवादीले आन्तरिक समस्याका कारण गुमाउन सक्ने खतरा रहेको धनकुटामा चर्चा हुन थालेको छ ।

धनकुटाका एक कांग्रेस नेताले भने– ‘धनकुटामा हामीले प्रतिनिधिसभा लिएर प्रदेशसभा माओवादी र जसपालाई छोड्ने आधारभूत छलफल भएको हो । यो उपयुक्त पनि छ । तर, माओवादी साथीहरुकै आन्तरिक समस्याका कारण माओवादीले टिकट नै पाए पनि परिणामार्फत गुमाउन सक्ने खतरा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्