Logo
Logo

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ



काभ्रेपलाञ्चोक । आजदेखि नेपालीको महानपर्व दसैँ सुरु भएको छ । चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन् । बितेका १७ वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन ।

अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो । बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारमा अझै आशा मरेको छैन ।

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला भनेर कायस्थ परिवारले दिन गन्दै बसेको पनि १७ वर्षभन्दा धेरै भइसक्यो । मुकेशकी आमा मीराले भने, ‘छोरालाई ठीक होला भन्ने आशा अझै मारेका छैनौँ ।’ तर मुकेश चार वर्षदेखि दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिएको छ ।

छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिए । ‘दसैँ-तिहारमा छिमेकका घर खुसियालीका साथ झिलिमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, आमा मीराले दुःखेसो पोखे, ‘दसैँ नजिकिएको बेला कहिलेकाहीँ त मुकेशले घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्को पस्छ ।’

मुकेश परिवारको एक्ला छोरा छन् । ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त ?’ बाबु कृष्णमान प्रतिप्रश्न गर्छन ।

कसैले उनको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सकेका छैन । परिवारका अनुसार हाल मुकेश अहिले ३२ वर्षको भए । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । ‘मुकेशले मुखबाट नखाएको पनि चार वर्ष भइसक्यो’, बाबु कृष्णमानले भने । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्छन ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । सत्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो । अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा सशङ्कित छन् । ‘दसैँ-तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न’, मीराले भने ।

उनका अनुसार आमा वा बाबुमध्ये कोहीकेही समय नजिक नभए मुकेश रुने गर्छन । कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन् । ‘हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ’, कृष्णमान पनि आँसु झार्दै पीडा पोखे । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै थिए ।

प्रतिक्रिया दिनुहोस्