
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले(सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गरेका हुन् ।
हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।
सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औं महासभालाई पनि सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए । साथै विश्वशान्ति र निशस्त्रीकरण प्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उनले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरे ।
उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा नि प्रष्ट पारे । सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५० औं वार्षिकोत्सवमा पनि सहभागिता जनाउँदै नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजनाहरु र आरसीए योजनाहरुमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनको भनाइ छ ।












