Logo
Logo

अन्जनको ह्याट्रिकमा नेपालको सहज जित



काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपाल सहज जित दिलाउनको लागि अन्जन विष्टले ह्याट्रिक गरे । बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए । नेपालले पहिलो हाफमै तीन गोल गरको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

१८औं मिनेटमा अञ्जानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत गोल गरका थिए ।

२७औं मिनेटमा अन्जनले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपछि रिवाउन्डमा अन्जनले गोल गरेका थिए ।

३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भयो । उनले विशाल राईको फ्रिकिकमा हेडमार्फत गोल गरेका थिए ।

५५औं मिनेटमा सजजत हुसेनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । रकिव हुसेनको क्रस सेसेहाङ आङ्देम्वेलाई डिफ्लेक्ट हुँदा कप्तान तथा गोलरक्षक किरण झुक्किन पुग्दा अनमार्क रहेका साजजाद हुसेनले हेडरमार्फत जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल विजयी हुन सफल भयो ।

यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित रहन सफल भएको छ । नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्