Logo
Logo

दसैँ-तिहारसँगै डुंगा व्यवसायी व्यस्त


441
Shares

अन्नपूर्ण (कास्की) । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुंगा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताए ।

पोखरा आएका पाहुना फेवाताल पुगेर डुंगा सयर गर्ने उनको भनाइ थियो । यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए । ‘कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो’, उनले भने, ‘कोरोना घटेपछि पाहुना आएर डुंगा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ ।’ पहिले दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक रु आठ सयसम्म कमाउछन् ।

पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आउनुभएका समिर मानन्धरले बताए । गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताएका उनले दसैँ बिदाको मेसोमा पोखरा आएका हुन् । पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुंगा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उनले सुनाए ।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुंगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । पोखरा आएका पर्यटक फेवातालमा डुंगा चढ्न हुरुक्कै गर्ने कारण डुंगा चालक व्यस्त हुन थालेको उनको भनाइ छ ।

फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुंगा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिए । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुंगा छन् । ती डुंगा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यावसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए । ‘बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको रु ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो’, कुँवरले भने, ‘यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्