Logo
Logo

पाँच निर्वाचन क्षेत्रका लागि माओवादी र एकीकृत समाजवादीबीच रस्साकस्सी



काठमाडौं । सत्तारूढ गठबन्धनबीच अझै पनि सिट बाँडफाँट मिलेको छैन । कुन दलले कति सिट पाउने भन्नेमा आधारभूत सहमति जुटे पनि दोहोरो दाबीका कारण अन्तिम सहमति जुट्न नसकेको हो ।

मधेस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको कतिपय निर्वाचन क्षेत्रमा तेहरो दाबी छ भने कतिपय पहाडी क्षेत्रमा माओवादी र एकीकृत समाजवादीको दोहोरो दाबी छ ।

मओवादी र एकीकृत समाजवादी दुबैले कम्तिमा पाँच निर्वाचन क्षेत्र छोड्न चाहेका छैनन् । दोलखा, उदयपुर–२, सल्यान, खोटाङ र अछाम–१ मा यी दुई दलको बलियो दाबी छ । यी पाँच ठाउँको दोहोरो दाबीका कारण गठबन्धनबीच सहमति जुट्न नसकेको नेताहरू बताउँछन् ।

मधेसमा तेहरो दाबी भएता पनि सबै दलबीच लगभग सहमति जुटिसकेको छ । तर, माओवादी र एकीकृत समाजवादीको दाबीले गठबन्धन अझै सिट बाँडफाँटमा अलमलमा रहेको हो ।

दोलखामा देवी र शिव भण्डारी
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा एकीकृत समाजवादीको बलियो दाबी छ । एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य शिव भण्डारीलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ ।

दोलखामा नेकपा माओवादीले देवी खड्कालाई बलियो दाबेदारको रूपमा उभ्याएको छ । हाल पार्टीको केन्द्रीय नेतृत्वमा रहेका देवी पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री हुन् ।

संविधानसभाका सदस्यसमेत रहेका देवी माओवादीमा आशा गरिएका युवा नेता हुन् । त्यसैले देवीलाई जसरी पनि प्रतिनिधिसभा सदस्य बनाउने माओवादीको योजना रहेको छ ।

प्रवक्ता जोगाउने कसरत
प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा एकीकृत समाजवादीलाई प्रवक्ता जगन्नाथ खतिवडाका लागि टिकट सुनिश्चित गर्नुछ । जगन्नाथ उदयपुर–२ का दाबेदार हुन् ।

उदयपुरको क्षेत्र नम्बर २ मा माओवादीको पनि बलियो दाबेदारी रहेको छ । माओवादीबाट निवर्तमान प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई ‘हिमाल’ बलियो दाबेदार हुन् ।

माओवादीका पोलिटब्युरो सदस्य रहेका हिमाललाई यसपटक प्रतिनिधिसभा सदस्य बनाएर मन्त्री बनाउने माओवादीको योजना रहेको छ । यसअघि माओवादी सरकारमा जाने बेलामा उनको नाम पटक–पटक लिस्टबाट काटिएको छ ।

उदयपुर–२ माओवादीले पाए हिमाल वा एकीकृत समाजवादीले पाए जगन्नाथ गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित हो । तर, त्यति सजिलै मिल्ने सम्भावना छैन ।

सल्यानमा ज्वालाप्रति सहानुभूति
सल्यानमा एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालाका लागि बलियो दाबी गरेको छ । माओवादीको पनि उस्तै बलियो दाबी रहेको छ ।

माओवादीबाट दुई जना दाबेदार छन् । एक, तीन पटकसम्म सांसद भएका टेकबहादुर बस्नेत हुन् भने अर्का प्रभावशाली युवा नेता रमेश मल्ल छन् । 

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेको युवा नेता रमेश उम्मेदवार बन्नुपर्ने मत ठूलो छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यान माओवादीले पाउने अवस्थामा रमेश नै उम्मेदवार हुने अवस्था रहेको छ ।

कर्णालीमा एमाले सरकार ढाल्न विद्रोह गरेका प्रकाशलाई नै प्रतिनिधिसभा सदस्य बनाउनुपर्ने एकीकृत समाजवादीको जोड रहेको छ । माओवादीको एक तप्का पनि प्रकाशप्रति सहानुभूति राख्छ ।

विद्रोहको कदर गर्नुपर्छ भन्ने मान्यता राख्ने माओवादीले मुख्यमन्त्री बनाएर प्रकाशको योगदानको कदर गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । तर, एकीकृत समाजवादीले प्रतिनिधिसभा नै पाउनुपर्ने अडान छोडेको छैन । 

माओवादीले भने अघिल्लो निर्वाचनमा जितेका निर्वाचन क्षेत्र सोही पार्टीले पाउने गठबन्धनबीच भएको आधारभूत सहमतिअनुसार आफूले पाउनुपर्ने दाबी छोडेको छैन ।

खोटाङमा माओवादीको बलियो दाबी
एक संघीय निर्वाचन क्षेत्र रहेको खोटाङमा पनि माओवादी र एकीकृत समाजवादीले बलियो दाबी गर्दै आएका छन् ।

एकीकृत समाजवादीले हाल प्रदेश १ का प्रदेशसभा सदस्य राजन राईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा उभ्याएको छ । माओवादीबाट पोलिटब्युरो सदस्य समिता कार्की ‘अस्मिता’ बलियो दाबेदार हुन् ।

अस्मिता बाहेक पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई र केन्द्रीय अनुशासन आयोगका संयोजक टंक राईको नाम पनि चर्चा छ । तर, माओवादीको भागमा परे अस्मिता नै उम्मेदवार बन्न सक्ने देखिन्छ ।

अछाममा उस्तै दाबी
दुई संघीय निर्वाचन क्षेत्र रहेको अछाममा पनि माओवादी र एकीकृत समाजवादी दुवैले दाबी छोडेका छैनन् ।

गैरसांसद भए पनि हाल श्रम मन्त्रीको जिम्मेवारीमा रहेका शेरबहादुर कुँवरलाई जसरी पनि प्रतिनिधिसभा सदस्य बनाउने एकीकृत समाजवादीको योजना रहेको छ ।

शेरबहादुरको निर्वाचन क्षेत्र अछाम–१ मा माओवादीको पनि बलियो दाबी रहेको छ । माओवादीबाट दिपक साउद बलिया दाबेदार हुन् । 

सुदूरपश्चिम प्रदेशमा माओवादीका प्रभावशाली नेताका रूपमा स्थापित दीपकलाई प्रतिनिधिसभामा जिताएर संघीय संसदमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गराउने माओवादीको योजना रहेको छ ।

तर, अन्य क्षेत्रमा जस्तै अछाममा पनि माओवादी र एकीकृत समाजवादीबीच सहजै कुरा मिल्ने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्