Logo
Logo

सहरमा पिङ र चंगा देख्नै मुस्किल


315
Shares

दोधारा चाँदनी । सात, आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चंगाहरु देख्न पाइन्थ्यो । तर अहिले सहरमा पिङ र चंगा उडाएको बिरलै देखिन्छ ।

उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको भीड देखिन्थ्यो ।

दसैँको घटस्थापनासँगै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा हुने गर्दथ्यो । यसले समाजमा रमाइलोसँगसँगै सद्भावसमेत कायम थियो । तर अहिले महेन्द्रनगर सदरमुकामका गाउँमा मात्र होइन, जिल्लाका कुनै पनि गाउँ बस्तीमा पिङ र चंगा उडाइरहेको पाइँदैन । पहिलाको जस्तो अहिले दसैँका बेला पिङ हाल्ने र चङ्गा उडाउनेको सङ्ख्या न्यून रहेको कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीले बताए ।

‘चार, पाँच वर्षअघिसम्म हामीले पनि पिङ हाल्थ्यौँ, यो केही वर्ष बीचमा रोकियो’, उनले भने, ‘अहिले त बच्चाहरुले समेत पिङ कस्तो हुन्छ खेल्न पाए हुन्थ्यो भन्न थालेपछि यस वर्ष हामीले पिङ हालेका छौँ ।’ उनले अहिलेको पुस्ताले पिङका बारेमा समेत जानकारी नहुने भएपछि कञ्चन समाज र भीमदत्त नगरपालिका–६ को सहयोग महेन्द्रनगरस्थित पूर्व पश्चिम राजमार्ग छेउमै पिङ हालेको बताए ।

उतिबेला महेन्द्रनगर बजारमै पनि धेरै ठाउँमा पिङ खेल्नेको घुइँचो हुने गरेको यहाँका स्थानीयवासी धीरज जोशीले बताए । ‘हामी आफैँ पनि पिङ खेल्न दुई/तीन ठाउँमा पुग्थ्यौँ’, उनले भने, ‘अहिले त बिरलै देखिन्छ, उतिबेला चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो ।’

दसैँको बेला गाउँमा चङ्गा उडाएको, मौलिक स्थानीय गीतसङ्गीत र बाजाहरुको आवाज घन्किएको र पिङ मच्चिएको देखिन छोडेपछि दसैँतिहारलगायतका पर्वहरुको रौनक घट्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । ‘देवीदेवताका मन्दिरमा जाने स्थानीय बाजा (दमाहा) बजाउने र पिङ खेलेर रमाइलो गरिन्थ्यो’, स्थानीय परमामनन्द भट्टले भने, ‘अहिले त मान्छे घरबाहिर निस्किन पनि चाहँदैन, मोबाइल र इन्टरनेटले गर्दा मान्छेलाई सामाजिकभन्दा पनि एक्लो बनाएको छ ।’

उनले पुराना परम्पराले समाजमा एकता कायम राख्ने भएकाले पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । ‘केही वर्ष अघिसम्म दसैँका जमरा सामूहिकरूपमा मठमन्दिरमा राख्ने चलन थियो । अहिले त घरघरमै जमरा राखिन्छ, यसले समाजमा मान्छे एक्लिँदै गएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्