
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गर्ने बारे केही भन्न नसक्ने बताएका छन् ।
बिहीबारदेखि नेकपा एमालेसँग चुनावी गठबन्धनबारे छलफल गरिरहेका अध्यक्ष यादवले सहमति हुने टुंगो नभएको बताएका हुन्। गठबन्धनबारे कुराकानीमात्र चलिरहेको सहमतिबारे अहिल्यै केही भन्न नसक्ने उनले बताए ।
यादव बिहीबार गठबन्धनको बैठकमा केही समय मात्र सहभागी भएर एमालेसँग कुराकानी गर्न हिँडेका थिए। यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन।
जसपाका नेताहरू भने जसले धेरै सिट दिन्छ त्यतै सहमति हुने बताइरहेका छन्। गठबन्धनमा जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ। तर गठबन्धनले १६ सिट मात्र दिने भएपछि जसपा अध्यक्ष यादव एमालेसँग चुनावी तालमेलको गृहकार्य सुरु गरेको हो । एमालेले २५ सिट दिन तयार भएको जसपाको दाबी छ ।











