काठमाडौं । विश्व बैंकले चालू चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपेडट’मा यस्तो उल्लेख गरिएको हो ।

आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने विश्व बैंकको अनुमान छ । यो एसियाली विकास बैंक (एडीबी)ले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । यसअघि एडीबीले ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ ।
विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान विश्व बैंकको अनुमान छ ।
आगामी आर्थिक वर्षमा भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ ।
रुस-युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नुपरेको विश्व बैंकले जनाएको छ ।
दक्षिण एसियामा सबैभन्दा संकटमा श्रीलंकाको अर्थतन्त्र रहेको छ । यो वर्ष श्रीलंकाको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने जनाइएको छ ।












