
मुस्ताङ । जोमसोम-मुक्तिनाथ-लोमान्थाङ सडक अवरुद्ध भएको छ । उक्त सडकमा शुक्रबार बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् ।
बिहीबार राति परेको अविरल वर्षाले उक्त सडकखण्डको पाण्डाखोला, पाक्लिङ पुलको सडक र कागबेनी माथि काभ्रेभीरलगायतका दर्जनौं स्थानको सडकमा क्षति पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पर्यटक पैदल हिँड्न बाध्य छन् । गाउँपालिकाले सन्त निर्माण सेवाको डोजर भाडामा लिएर सडक मर्मत सुरु गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
वर्षा रोकिएमा शनिबारसम्म सडक सूचारु गर्ने गरी काम अघि बढाइएको बताए ।











