Logo
Logo

एमाले सुनसरीमा विद्रोह, अशोक राईविरुद्ध मनोज उठ्ने



काठमाडौं । नेकपा एमालेले सुनसरी १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने भएपछि कार्यकर्ताले विद्रोह गरेका छन् ।

एमालेको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने निर्णय गरेपछि एमाले कार्यकर्ता विद्रोहमा उत्रिएका हुन् । सुनसरी १ एमालेको बलियो पकड क्षेत्र मानिन्छ ।

अशोक राई / मनोज मेयाङ्बो

अध्यक्ष ओलीको निर्णयअनुसार सुनसरी १ मा जसपा नेता अशोक राई उठ्ने भएका छन् । एमाले सुनसरीले १ नम्बर क्षेत्रका लागि निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियो ।

स्थानीय कमिटीको सिफारिसविपरीत जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेको छ ।

आफ्नो बलियो पकड भएको क्षेत्रमा अर्कैलाई टिकट दिएपछि कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको बताउँदै उनले स्वतन्त्र उठ्न आफूमाथि दबाब परेको बताए । उनले आजै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्ने बताए ।

स्थानीय कमिटीको सिफारिसमा परेर पनि टिकट खोसिएका राईले पनि जसपालाई सघाउने पार्टी केन्द्रको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । उनले पार्टीको निर्णयबारे धेरै नबोल्ने बताउँदै भने, ‘म पार्टी केन्द्रको निर्णय मान्छु तर यहाँ कार्यकर्ताको विद्रोह रोक्न सकिने अवस्था छैन ।’

एमाले चुनावी तालमेलपछि प्रदेश १ का मोरङ ५ र सुनसरी १ जसपालाई दिने निर्णय गरिसकेको छ । त्यस्तै झापा ३ राप्रपालाई छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्