
काठमाडौं । एमाले सचिव योगेश भट्टराई २०७४ सालमा निर्वाचन लड्न ताप्लेजुङ पुगे ।
काठमाडौंमा २ पटक पराजय ब्यहोरिसकेका योगेश राजनीतिक भविष्य नै खतरमा रहेका बेला गृह जिल्ला फर्किएका थिए ।त्यसपटक आफू निर्वाचित हुनेमा ढुक्क थिए । ढुक्क हुनुको प्रमुख कारण थियो, नेकपा माओवादी केन्द्रसँग वाम गठबन्धन हुनु ।
वाम गठबन्धन भएपछि योगेशको प्रमुख कमाण्डरका रुपमा थिए, माओवादी केन्द्रका तत्कालिन अध्यक्ष खेलप्रससाद बुढाक्षेत्री ‘पराग’ । पराग आफू नै त्यसबेला प्रतिनिधि सभामा आकांक्षी थिए । तर, वाम गठबन्धन भएपछि योगेशलाई जिताउन खटिए । जिताए पनि ।
अहिले भने ताप्लेजुङको परिस्थिति ठीक उल्टो छ । योगेशलाई संसद बनाउन नेतृत्वदायी भूमिका खेलेका पराग नै उनको प्रतिस्पर्धि बन्ने भएका छन् । सत्ता गठन्धन भागवण्डामा माओवादीको भागमा ताप्लेजुङ परेपछि परागको उम्मेदवारी पक्का भएको हो ।
माओवादी केन्द्रिय सदस्य पराग शालीन र बौद्धिक नेताका रुपमा चिनिन्छन् । शिक्षण पेशा (विज्ञान विषय) छाडेर जनयुद्धमा लागेका उनी माओवादीको जिल्ला सेक्रेटरी, इन्चार्ज हुँदै अध्यक्ष भइसकेका छन् । एमाले र माओवादी पार्टी एकीकरण भइ नेकपा हुँदा प्रदेश सदस्य थिए । हालसम्म कुनै लाभको पदमा नबसेका उनी पहिलो पटक निर्वाचन लड्दै छन् ।
‘राजनीतिसँगै गाउँमा कृषि पेशामा पनि संलग्न रहेका कारण पराग ग्रामिण क्षेत्रका जतनाको पीडा र आवश्यकता बुझेका सरल स्वभावका नेता हुन्,’ माओवादीका एक नेता भन्छन्, ‘त्यसैले यसपटक योगेशलाई निकै गाह्रो छ ।’ केन्द्रमा राम्रो पहुँच भएपनि जिल्लाको विकासमा चासो नदेखाएको भन्दै जिल्लामा योगेशप्रति वितृष्णा छ ।
बहानन्दे–दोभान सडक कालोपत्रे, सुकेटार–पाथीभरा सडक कालोपत्रे, तमोर करिडोर सडक लगायतका विकासका योजना सम्पन्न गर्ने भन्दै मत मागेका योगेशले जितेपछि त्यसमा ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । ती योजना अहिले पनि अलपत्र छन् ।
बहानन्दे–दोभान सडक त गाडी गुड्नै नसक्ने अवस्थामा पुगेको छ । त्यतिमात्र होइन प्रत्येक पालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने भाषण हावादारी बनेका छन् । पर्यटनमन्त्री हुँदा पनि जिल्लालाई नहेरेको र राम्रो कार्यसम्पादन नगरेको आरोप योगेशमाथि छ ।
मन्त्री हुँदा भ्रमण वर्षलगायतका योजनाका नाममा आसोपासेलाई मात्र पोसेको भन्दै जिल्लामा एमालेवृत्त मै योगेशको चर्को विरोध भएको थियो । ‘योगेशले केही गर्लान् कि भन्ने आश जनतामा थियो,’ एक स्थानीय भन्छन्, ‘केन्द्रिय नेता भनेर मात्र नहुँदो रहेछ । विकास गर्ने इच्छाशक्ति चाहिने रहेछ ।’
गठबन्धन मिलेर गए यसपटक योगेशलाई जित्न निकै कठीन रहेको उनले बताए ।