
काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा सुनसरी-१ माओवादीको भागमा परेको छ । तर, माओवादीले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
सुनसरी–१ मा माओवादीका दुई दाबेदार छन् । संविधानसभाका सदस्य किरण राई र नेता मुक्सामहाङ मेन्याङ्बो ‘मुकेस’ दाबेदार हुन् ।
माओवादी प्रदेश १ का एक नेताका अनुसार मुकेसले टिकट पाउने सम्भावना बलियो छ । मुकेस यसअघि प्रदेश १ को अध्यक्षमा पराजित भएका नेता हुन् । २०७० को संविधानसभा निर्वाचनमा सुनसरी–१ बाटै उम्मेदवार बनेका मुकेस पराजित भएका थिए ।
माओवादीका ति नेताले भने– ‘यसपटक मुकेस कमरेडले नै टिकट पाउने सम्भावना रहन्छ । एउटा नेता बारम्बार असफल हुने अवस्था राम्रो हुँदैन । यसपटक सबैको सहानुभूति मुकेस कमरेडप्रति छ ।’
अर्का दाबेदार किरण माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको पार्टीमा लागेका थिए । तर, केही वर्ष अगाडि उनी माओवादीमै फर्केका हुन् ।