Logo
Logo

खोटाङमा गठवन्धनबाट पासाङले टिकट पाउने निश्चित



काठमाडौं । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको खोटाङ जिल्ला माओवादी केन्द्रले पाएको छ । सत्ता गठवन्धनको सिट भागवन्डा समहमती अनुसार खोटाङ माओवादीले पाएको हो ।

यस्तै, प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । तर अहिलेसम्म गठबन्धनबाट उठ्ने उम्मेदवारको आधिकारिक टुंगो लागेको छैन ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा एक नम्बरका उर्जा तथा सिँचाई मन्त्री रामकुमार राई ‘पासाङ’ले दृष्टिसंग कुरा गर्दै आज बेलुका सम्ममा उम्मेदवार टुंगो लाग्ने बताए । उनले भने, ‘खोटाङ हाम्रो भागमा परेको छ। यो पटक मैले नै टिकट पाउने निश्चित छ । यसको निर्णय बेलुका साझँसम्ममा हुन्छ ।’

त्यस्तै, नेकपा एमालेले भने विशाल भट्टराईलाई टिकट दिएको छ । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए । उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्