Logo
Logo

खोटाङमा माओवादीबाट पासाङलाई टिकट


4.5k
Shares

काठमाडौं । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको खोटाङ जिल्ला माओवादी केन्द्रबाट रामकुमार राई ‘पासाङ’ उम्मेदवार बन्ने भएको छ ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि सत्ता गठवन्धनको सिट बाँडफाँट अनुसार खोटाङ माओवादीले पाएपछि पार्टीले राईलाई टिकट दिएका हो । प्रदेश नं १ को खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री समेत रहेका राई २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, नेकपा एमालेले भने विशाल भट्टराईलाई टिकट दिएको छ । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए । उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्