Logo
Logo

एमाले-जसपा किचलो- जसपाको भागमा परेको क्षेत्रमा एमालेको उम्मेदवारी



विराटनगर । नेकपा एमाले र जसपाबीच तालमेल भएको क्षेत्र विराटनगर–४ ‘ख’मा एमालेका जीवन घिमिरेले पनि टिकट पाएका छन् । उक्त क्षेत्र तालमेलअनुसार जसपाको भाग परेको हो । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदवार आफू भएको बताएका छन् ।

एमाले र जसपाबीच चुनावी तालमेल हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ जसपाको भागमा परेको थियो । जसपाले सो क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिइसकेको थियो । तर, घिमिरेले आइतबार दिउँसो एमालेले आफ्नो नाममा टिकट पठाएको भन्दै मनोनयन दर्ता गराउँदैछन् ।

जसपा नेता सिंहले भने विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार आफू रहेको दावी गरेका छन् । उनले भने, गठबन्धनमा भएको सहमति सबैले हेर्नु भएको होला । सहमतिअनुसार गठबन्धनको आधिकारिक उम्मेदवार म हो, आज दिउँसो निर्वाचन कार्यालयमा भेला भएर एमालेसँग संयुक्त रुपमा मनोनयन दर्ता गराउँछु ।’

जसपा र एमालेबीच गठबन्धन गर्दा मोरङ क्षेत्र नम्बर ४ को ‘ख’, प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५, प्रदेश सभातर्फ ५ को ‘ख’ र क्षेत्र नम्बर ६ को ‘ख’ जसपाको भागमा परेको थियो । ४ को ‘ख’ जसपालाई दिन नहुने भन्दै एमाले नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दबाब दिएका थिए ।

नेकपा एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिने नेता घिमिरे मुख्यमन्त्रीको दाबेदार पनि हुन् । जीवन र सञ्जयमध्ये जसले टिकट पाएपनि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीसँग प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्