
काठमाडौं । आसन्न संघ तथा प्रदेश निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले बागी उम्मेदवार दिएका छन् ।
जोशीले आफ्ना समर्थकको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग वरिष्ठ नेता पौडेल पराजित भएका थिए ।
नेता पौडेलसँगको दुश्मनी र भ्रष्टाचार मुद्दाका कारण कांग्रेसबाट पाखा लाग्दै गएका पूर्वगृहमन्त्री जोशीले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दालाई आधार बनाएर पौडेलले उनको उम्मेदवारी रद्द गराइदिएका थिए ।
जोशीको बागी उम्मेदवारी रद्द गराएपछि सुरक्षित महसुस गरेका पौडेल निर्वाचनमा एमाले उम्मेदवार श्रेष्ठले पराजित गरेका थिए ।
आफ्नो उम्मेदवारी पौडेलले रद्द गराएपछि जोशी पक्षले निर्वाचनमा वामगठबन्धनका उम्मेदवार श्रेष्ठलाई सहयोग गरेका थिए । तनहुँमा राम्रै प्रभाव रहेका जोशीको असहयोगकै कारण पौडेलको पराजय भएका थिए ।
त्यो बेला पौडेललाई पराजित गर्ने श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा छन् । २०७४ मा विजय हासिल गरेको आधारमा तनहुँ-१ मा श्रेष्ठकै दावेदारी रहने भए पनि सत्ता गठबन्धनले उनलाई बारा–४ को उम्मेदवार बनाएपछि पौडेलका लागि यो निर्वाचन क्षेत्र सुरक्षित गरेको हो । तर, जोशीले आफूविरुद्ध बागी उम्मेदवारी दिएपछि पौडेल संकटमा परेका छन् ।