Logo
Logo

सुदन-शेरधनको तेस्रो भेट, अंकगणितमा सुदनलाई सहज


59.8k
Shares

भोजपुर । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभाका लागि पाँच दलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराती र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

यो सुदन र शेरधन तेस्रो भेट हो । यसअघि यी दुई नेताले दुई पटक प्रतिस्पर्धा गरेका छन् । जसमा शेरधन र सुदनले आपसमा हार र जीत एक-एक पटक व्यहोरेका छन् ।

०४६ सालदेखि ०५६ सालसम्म जिल्लाका दुवै क्षेत्रमा लगातार विजयी हुँदै आएको नेकपा एमालेलाई ०६४ सालको पहिलो संविधासनभाको निर्वाचन क्षेत्र नम्बार दुईमा नेकपा माओवादीले धक्का दिएको थियो । त्यसबेला एमालेका उम्मेदवार शेरधानलाई हराउँदै सुदन विजयी भएका थिए ।

०७० को निर्वाचनमा भने सुदनलाई नै पराजित गर्दै शेरधन विजयी भए । ०७४ को निर्वाचनमा एउटा मात्रै संघीय निर्वाचन र दुई वटा प्रदेश निर्वाचन क्षेत्र भएको भोजपुरबाट बाम गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका थिए ।

प्रतिनिधिसभामा माओवादीका सुदन र प्रदेशतर्फ नेकपा एमालेका शेरधन र राजेन्द्र राई विजयी भएका थिए । शेरधन प्रदेश १ का पूर्वमुख्यमन्त्री हुन् भने राजेन्द्र हालका मुख्यमन्त्री हुन् । ०७४ को निर्वाचनमा एउटै मोर्चामा रहेका यी तीन नेता अहिले एकआपसमा भिड्दै छन् । यद्यपी, सुदन र राजेन्द्र भने अहिले पनि एउटै मोर्चामा छन् ।

भोजपुरमा ०४८ साल निर्वाचन यता निरन्तर वामपन्थीहरुले जित्दै आएका छन् । कांग्रेसले ०४८ पछिका कुनै पनि संसदीय निर्वाचनमा चार तारे झण्डा गाड्न सकेको छैन । हारमा ह्याट्रिक गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ०७४ मा प्रतिनिधिसभा निर्वाचन लड्न पहाडबाट तराई झरेका थिए ।

०५१, ०५६ र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कार्की भोजपुर–१ बाट पराजित भएका थिए । ०७० को दोस्रो संविधानसभामा भने कार्की समानुपातिकतर्फ बसेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ मा झरे र वाम गठबन्धनका उम्मेदवारलाई हराउँदै उनी विजयी भएका थिए ।

अंकगणितमा सुदनलाई सहज

दुईमध्य एक संघीय संसदमा जाने छन् । हालै सम्पन्न स्थानीय तहमा दलहरुले पाएको वडागत मतका हिसाबले सुदनलाई सहज देखिन्छ । साथै सत्ता र आफ्ना नेतृत्वमाथि तिखो प्रश्न गर्ने सुदन भोजपुरमा लोकप्रिय छन् ।

सत्ता गठबन्धनको मत ४० हजार २ सय ६० हुन्छ । स्थानीय तहको मत परिणाम अनुसार भोजपुरमा कांग्रेसले २३ हजार ५ सय ९९ पाएको थियो । यहाँ नेकपा एमालेको २७ हजार ६ सय ५६ मत रहेको छ । तेस्रो दल रहेको माओवादी केन्द्रको मत १४ हजार ७ सय १६ छ भने एकीकृत समाजवादीको मत १ हजार ९ सय ४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्