झापा । झापा क्षेत्र नम्बर १ मा पूर्वकानूनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा–१ मा तेस्रोपटक उम्मेदवार भएका महामन्त्री शर्मासँग खरेल पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् । दवै जनाले उम्मेदवारलाई यो क्षेत्रमा सहजता र प्रतिकूलताको लेखाजोखा झापामा सुरु भइसकेको छ ।
आगामी मंसिर चार गते हुने निर्वाचनमा एमाले नेता खरेललाई राप्रपाले साथ दिएको छ भने कांग्रेस नेता शर्मालाई पाँच दलीय सत्ता गठबन्धको साथ छ ।
झापा–१ मा ०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेता राम काकीले जितेका थिए । काकीसँग विश्वप्रकाश पराजित भएका थिए । ०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा विजयी बनेका कार्कीले ३६ हजार १७३ मत पाएका थिए भने कांग्रेसका विश्वप्रकाशले एक्लै ३३ हजार ३१० मत पाएका थिए ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा यस क्षेत्रमा एमाले बलियो देखिएको छ । स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा शर्मालाई अनुकूल अवस्था देखिँदैन । स्थानीय तहको मतको आधारमा एमाले पहिलो शक्ति हो ।
यस क्षेत्रमा पर्ने कुल २१ वडाहरुमध्ये एमालेले १४, कांग्रेसले ६ र माओवादीले एउटा वडाध्यक्ष जितेका थिए । स्थानीय तहमा एमाले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ र एकीकृत समाजवादीको पक्षमा १ हजार २५२ मत खसेको छ ।
स्थानीय चुनावको मतका आधारमा एमाले अगाडि देखिए पनि कांग्रेस महामन्त्रीको व्यक्तित्वका कारण गत चुनावको गणित अहिले काम नलाग्ने कांग्रेस नेताहरुको तर्क छ । तर, एमाले नेताहरु भने राप्रपाको समेत साथ पाउँदा खरेल झनै बलियो बनेको बताउँछन् ।











