काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । ललिता निवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको हो ।

गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै काठमाडौं महानगरपालिका–७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् । नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा रिहा भएका थिए । गच्छदारविरुद्ध उजुरी आएको जानकारी आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् । उनले उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन् । आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो ।
त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो । गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ ।











