
१. आमागी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मतदाता नामावलीमा र नागरिकतामो जन्ममिति फरक रहेको भन्दै उम्मेदवारी खारेजीको माग, ललिता निवास जग्गा प्रकरणका आरोपित विजयकुमार गच्छदारविरुद्ध उजुरी, गच्छदार लड्दा जनमतको अपमान हुने ठहर, रेशमलाल चौधरी र लक्ष्मण थारुविरुद्ध पनि उजुरी ।

२. प्रमुख राजनीतिक दलहरुबाटै नेपालको संविधान उल्लंघन, संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेपनि प्रत्यक्ष निर्वाचनतर्फ ९ प्रतिशत महिलालाई टिकट, निर्वाचन आयोगले दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएपनि दलहरूले टेरेनन्, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै ।

३. राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति, असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप, आफू निर्दोष रहेको र सुनियोजित रुपमा फसाएको सन्दीपको दाबी, आत्मासम्मानमा चोट पुगेको, चरित्रहत्या गरिएको भनाइ, राष्ट्रका लागि खेल्ने भएकाले प्राथमिकतामा राखेर छिटो टुंगोमा पुर्याइदिन आग्रह ।

४. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने, उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने, समानुपातिकतर्फ सिट प्राप्त गर्न दलले प्रतिनिधिसभामा कूल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत मत नल्याए समानुपातिकतर्फको सिट नपाउने ।

५. निर्वाचनका क्रममा उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने, उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारबाट सामाजिक सञ्जालमा प्रचारप्रसार र विज्ञापन, सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्वाचन आयोगले संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने ।

६. देशैभर फैलिएको डेंगु संक्रमणले झनै भयावह रुपमा लियो, सातै प्रदेशका ७६ जिल्लामा फैलियो डेङ्गु, डेङ्गुका कारण ४४ जनाको मृत्यु, गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि, कुन सेरोटाइपिङले गर्दा डेङ्गु फैलिएको हो भन्ने यकिन गर्न सरकारले अनुसन्धान गर्दै ।

७. नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक, नेपालको समग्र हवाई सुरक्षाबारे कात्तिक ११ गते नेपाललाई प्रतिवेदन दिने, इयुको प्राविधिक टोली नेपाली हवाई क्षेत्रको अवस्थाबारे सकारात्मक रहेकाले नेपाल इयुको ‘उड्डयन सुरक्षा सूची’ बाट चाँडै हट्ने विश्वास, प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ र अन्तिम प्रतिवेदन इयुमा बुझाएपछि सुरक्षा सूचीबाट हटाउने निर्णयको टुङ्गो लाग्ने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो, २७ दशमलव १६ घटेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनसेक्स पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा झर्यो, दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख ६ सय ९६ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैयाँमा खरिद बिक्री ।

९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशको पहिलो स्वर्ण , पोखरा रंगशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले जिते स्वर्ण पदक, सशस्त्र प्रहरी बलका उर्मिला लामा पराजित, नेपाल आर्मीका रविना थापा र अर्मीकै मनिषा क्रमशः द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल ।

१०. सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, डग्लस डायमन्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेष गरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंकहरूको भूमिकाका साथै वित्तीय बजारलाई कसरी नियमन गर्ने भन्ने आम बुझाइमा उल्लेखनीय सुधार गरेको’ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार निर्णायक समितिको भनाइ ।












