
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्मालाई जिताउन अनुरोध गरेकाछन् । शर्मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।
उनी नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा छिन् । गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ । महराले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘२०७४ सालमा म निर्वाचित भएको दाङ–२ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउनु हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु ।’
शर्मा योग्य र क्षमतावान नेतृ भएकाले संसदमा उनको आवश्यकता हुने महराले बताए । यसैबीच महराले आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । आइतबार विज्ञप्ति प्रकाशित गरी आफू अब समाजसेवा र पार्टीको काममा सक्रिय भएर लाग्ने बताएका हुन् ।
‘दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि मैले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि काम गरेको छु । संसदीय भूमिका नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्ने छ,’ महराले विज्ञप्तिमा भनेका छन् ।











